२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेला असार १८ गते

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेला असार १८ गते

काठमाडौं, १३ असार । स्वतन्त्र उम्मेदवारहरुले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै असार १७ र १८ गते हुने भनिएको स्वतन्त्र उम्मेदवारहरुको भेला असार १८ गते एक दिन हुने जानकारी दिइएको हो । भेलाको स्थान तय हुन भने बाँकी रहेको जानकारी दिइएको छ ।

स्वतन्त्र उम्मेदवारहरुले राष्ट्रिय भेलामा देशभरका स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरुलाई उपस्थितिको लागि आह्वान गरेका छन् । राष्ट्रिय भेलालाई ‘संयुक्त बिशेष भेला’ को नाम दिने र उक्त ‘विशेष भेला’ले बृहत राष्ट्रिय भेलाको मिति र कार्यक्रम तोक्ने जनाइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र अभियानकर्ता हरिशरण लामिछानेले नेपालको राजनीतिमा देखिएका कमी कमजोरी, चुनौति र विकृतीलाई चिरेर स्पष्ट सोच र दृष्टिकोण भएका गैरराजनीतिक व्यक्तिहरु राजनीतिमा प्रवेश गर्नु सुखद पक्ष भएको बताए । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका सुमन सायमीजस्तै व्यक्तिबाट आफु प्रभावित भएको सुनाए ।

जब–जब राष्ट्रको राजनीतिले सहि दिशा लिन सक्दैन् तब–तब त्यसको विकल्पमा वैकल्पिक शक्तिको उदय हुने उनको भनाई थियो । लामिछानेले माओावादीले गरेको सशस्त्र संघर्षले पनि मानिसको आकांक्षा पुरा गर्न सक्दैन भन्ने मान्यता स्थापित भइसकेको जिकिर गरे । तर, उनले शसस्त्र संघर्षबाट केही उपलब्धी हासिल भएको भने स्वीकारे ।

उनले जो कोहीलाई पार्टी खोलेर राजनीतिमा जाने व्यवस्था भएपनि त्यसमा अझै केही कमी देखेर नै स्वतन्त्र भावनाबाट एकित्रित हुन खोजेको बताए । उनले स्वतन्त्रमा युवाहरुको बढी चासो र सहभागीता धेरै भएको समेत दाबी गरे ।
उनले भने,‘समाजमा पिछडिएका वर्ग, वृद्धावृद्धाको आवाज उठाउने, बलात्कारको घटना, समाज रुपान्तरणमा अहम भुमिका खेल्ने तर पर्दा पछि रहेका व्यक्तिहरुको लागि आकर्षित गर्नका लागि पनि आज स्वतन्त्रको आवश्यकता छ ।’

त्यस्तै, अर्का स्वतन्त्र अभियानकर्ता दिनेश सुवेदीले निष्पक्ष,निडर जहिले पनि निर्भिक, सत्य र न्यायको पक्षमा लड्ने सहिलाई सही र गलतलाई गलत भन्ने देशभरीको जमातलाई स्वतन्त्रको रुपमा हेरिने बताए । उनले गत स्थानीय चुनावमा स्वतन्त्रको उम्मेदवारहरुको लहर नै चलेको दाबी गरे । गत स्थानीय तहको निर्वाचनमा काठमाडौंमा बालेन, धरानमा हर्क साम्पाङसहित ३८५ जना जनप्रतिनिधि निर्वाचित भएसँगै अबको स्थानीय निकायमा स्वतन्त्र उम्मेदवारमात्र जान पर्ने नीति स्थापित गर्नुपर्नेमा जोड दिए ।

सुवेदीले स्वतन्त्रहरुको उदय हुनु देशकै महत्वपुर्ण उपलब्धी भएको बताए । स्वतन्त्रहरु परिवर्तन चाहने भन्दै उनले नेपालमा व्यवस्था परिवर्तत भएपनि आम जनताको अवस्था परिवर्तन नभएको बताए । सुवेदीले देशमा धेरै पटक विभिन्न नीति आएपनि कार्यान्वयन नभएको भन्दै दुखेसो पोखे । उनले भने,‘नेताहरुको चित्रमा परिर्वतन आएपनि उनीहरुको चरित्र परिवर्तन भएको छैन् ।’ प्रणालीगत समस्यालाई चिरेर मुलुक अब परिवर्तनको दिशामा जानुपर्नेमा उनले जोड दिए । हाल मुलुक राजनीतिक भागवण्डा र राजनीतिक सिण्डिकेटले अस्तव्यस्त भइसकेको भन्दै स्वतन्त्र उम्मेदवारहरुले परिवर्तन चाहेको उनले बताए । १८ गते राष्ट्रिय भेलाको आयोजना गरेको भन्दै देशभरका स्वतन्त्रहरुलाई उपस्थित हुनलाई आग्रह गरे ।

यसैगरी, अर्का स्वतन्त्र अभियानकर्ता सुमन सायमीले गत स्थानीय निकायमा अधिकारको लागि आवाज उठाउने क्रममा आफु स्वतन्त्रको उम्मेदवार भएको बताए । उनले आफुले १३ हजार बढी सम्मान जनक मत पाएको सुनाए ।
आगामी १८ गते राष्ट्रिय भेलामार्फत मंसिरमा हुने प्रदेश र संघको चुनावमा कसरी अघि बढ्ने भनेर देशव्यापी स्वतन्त्र उम्मेदवारहरुलाई बोलाएर छलफल गर्न लागेको जानकारी दिए । विचार र सिद्धान्त नभई अघि बढ्न नसकिने उनको भनाई थियो । स्वतन्त्रहरुको राष्ट्रिय भेलाको निर्णय अनुसार अघि बढ्ने सायमीले स्पष्ट पारे । सायमीले गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्रले जितेपछि राजनीतिक दलहरु सचेत भइसकेको बताए ।

स्वतन्त्र अभियानकर्मी माया गुरुङले आफु अब गाउँ बनाउन तिर लागेको बताइन् । स्वतन्त्र हिसाबले गत स्थानीय तहको चुनावमा उम्मेदवारी दिएको उनले जानकारी दिइन् । उनले भनिन्,‘राणा शासनबाट प्रजातन्त्र र प्रजातन्त्रबाट आज लोकतन्त्र आएपनि पार्टीहरुको दास भएको महसुस भएर स्वतन्त्र हुन खोजियो ।’ अन्यायको विरुद्ध आफुहरु लागेको उनले सुनाइन् । अहिले देशैभर स्वतन्त्रहरुले राम्रो सुरुवात गरेकोमा खुशी व्यक्त गरिन् । अब देश स्वतन्त्र व्यक्तिहरु नै मिलेर बनाउने उनले धारणा राखिन् ।

अर्का अभियानकर्ता दिनेश खनालले राजनीतिक दलको झुटो वचन र कर्मप्रति फरक भएकोले स्वतन्त्र ढंगले आफ्नो समुह अघि बढेको बताए । गत स्थानीय चुनावमा पनि काठमाडौं महानगरमा बालेन्द्र साहलाई भरपुर सहयोग गरेको जानकारी दिए ।
उनले भने,‘पार्टीगत रुपमा झुटा मुद्दालाई हेरेर नेपाली जनतालाई भोट हाल्न नलगाउने भनेर बालेन शाहलाई भरपुर सहयोग गरेर जितायौं । अब संसदमा सुमन सायमीलाई पुर्याउन सहयोग गछौैं, उहाँले जनताको आवाज संसदमा पु्रयाउनु हुनेछ ।’

त्यस्तै, अभियानकर्ता राजानन्द माण्डपले आफुहरु स्वतन्त्र भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी नभएको बताए । र, आफुहरुकै अभियानले उक्त नामविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको समेत बताए । कार्यक्रममा स्वतन्त्र अभियानकर्मी डम्बर साहुले प्रेश विज्ञप्ती पढेर सुनाएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com