२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

बहुमत जुटाएर एक अर्कालाई कारबाही गर्न यादव र भट्टराईको दौडधूप

बहुमत जुटाएर एक अर्कालाई कारबाही गर्न यादव र भट्टराईको दौडधूप

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद अब बहुमत जुटाउने खेल र एक अर्कामाथि कारबाहीतर्फ प्रवेश गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष सांसद र केन्द्रीय समितिमा बहुमत जुटाउने र अर्को पक्षलाई कारबाही गर्नेसम्मको तयारीमा लागेका छन् । पार्टीका मन्त्रीहरू हेरफेर गर्ने यादव पक्षको एकपक्षीय निर्णयले विवादको भूमरीमा फसेको जसपामा थप संकट थपिएको छ ।

यादव पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सोमबार साँझ बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेपछि भट्टराई पक्ष पनि रणनीति निर्माणमा जुटेको छ । यादव भने पार्टी निर्णय प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने तयारीमा छन् । बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा यादवलाई दिएको छ ।

यादव पक्षले हालका मन्त्री फिर्ता गरेर नयाँ मन्त्री पठाउने निर्णय गरेपछि पनि भट्टराई पक्षसँग भने कुनै परामर्श गरेको छैन । कार्यकारिणी समितिमा बहुमत रहेकाले सोही आधारमा निर्णय भएको यादव पक्षको दाबी छ । तर, बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराई र उनीनिकट सदस्यलाई जानकारी गराइएको थिएन ।

जसपामा दुवै पक्ष संसदीय दल र केन्द्रीय समितिमा आफ्नो पक्षमा बहुमत जुटाउने खेलमा छन् । मन्त्री हेरफेरको निर्णयले शक्ति सन्तुलनमा फेरबदल आउने र आफ्नो पक्षमा बहुमत जुटने यादव र भट्टराई दुवै पक्षको बुझाइ छ ।

२१ सदस्यीय (दुई जना निलम्बन) संसदीय दलमा बहुमत जुटाएर यादवलाई दलको नेताबाट हटाउने र मन्त्री हेरफेर गर्ने भट्टराई र उनी पक्षधर नेताहरुको झन्डै एक महिना देखिको तयारी थियो । तर, निर्णायक विन्दुमा सांसद इस्तियाक राई र प्रदीप यादव सम्पर्कविहीन भएपछि भट्टराई पक्षलाई आफ्नो रणनीतिअनुसार अगाडि बढ्न सम्भव भएको थिएन । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com