२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

मलबिनै धान रोपाइँ गरिँदै

मलबिनै धान रोपाइँ गरिँदै

मध्य असारपूर्व नै लगातार पानी परिरहेपछि महोत्तरीमा किसान धान रोपाइँमा लागेका छन् । कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद -रासायनिक मल_ नपाएपछि किसान परेको पानी खेर जान नदिन भन्दै रोपाइँमा लागेका हुन् । पछिल्ला पाँच–छ दिनयता दिनहुँजसो पानी परिरहेपछि किसानको रोपाइँमा व्यस्तता बढेको हो । यसअघि माटो गाल्ने गरी पानी नपरेर आकाश ताक्दै आएका किसानलाई अहिले दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न बनेको छ ।

“वरपर बजारमा मल पाइएन, पानी परेको परै छ, त्यसैले पानी खेर जान नदिन भएको बीउ रोप्न थालियो”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान इद्रिस राइनले भने । महोत्तरीका सबै भेगमा परिरहेको पानीले किसानलाई सक्रिय बनाएको छ । अहिले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा लगातारको पानी पराइले यसपालि असार मसान्तमै धानको शाहीरोप -पहिलो बीउरोप_ सकिने आस जागेको बलवा नगरपालिकाको भगवतीपुरका किसान मन्सुल राइन बताउछन् । “मध्य असारताका राम्रो वर्षा भइरहेको छ”, राइनले भने, “मौसमले यस्तै साथ दिए यसपालि समयमै धान रोपाइँ सकिने छ ।” रोपाइँका लागि पानी परे पनि मल नपाएकामा भने राइनको दुःखेसो छ ।

“सबै कुरा मिलाएर रोपाइँ गर्न पाए राम्ररी खेती लाइयो भन्ने हुन्थ्यो”, राइन भन्छन्, “यसपालि बीउ धान पनि नयाँ पाइएन, मल बजारमा छँदै छैन, घरको पुरानो बीउले जति धानिन्छ, रोप्न थालियो ।”

महोत्तरीसहितका मध्यपूर्वी तराईमा जेठ २२ सम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप -शाही रोप_ सक्ने र साउन तेस्रो साताभित्र खरुवन -कलम, पहिले रोपिएको बीउको रोपो गाँजिएपछि त्यो उखेलेर रोप्ने गरिन्छ यसलाई खरुवन रोप भनिन्छ_ रोपाइँ सक्न उपयुक्त समय मानिन्छ । यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाइएको धेरैजसो किसानको भनाइ छ ।

ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको किसानले बताएका छन् । यसपालि बीउको कमीले शाहीरोप कम हुने हुँदा धेरैजसो रोपाइँ खरुवनबाटै गरिनुपर्ने भङ्गाहा–१ कविलाशाका किसान अलाउद्दिन कवारी बताउछन् ।

असार दोस्रो साताको प्रारम्भदेखि नै लगातार पानी परिरहेपछि खेतका गह्रामा पानी लागेको छ । खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने ९बीउ उखेल्ने० र रोप्ने कामको सबैलाई चटारो छ । यद्यपि पानी भए पनि कम्पोष्ट मल र कृषि कार्यको जनशक्ति नपाइँदा पिरोलो बढेको किसान बताउँछन् ।

जिल्लाका कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमात्र नहर कुलो लाग्ने सिञ्चित भएको हुँदा यहाँका अधिकांश खेती आकाशे पानीकै भरमा गरिनुपर्दा कहिल्यै समयमा खेती गर्न नपाइएको किसानको आम गुनासो छ । समयमा बीउ, मल र जन नपाउँदा किसानको जिन्दगी दुःखैदुःखको पहाड बनेको बर्दिवास नगरपालिका–१२ बिजलपुराका किसान विश्वनाथ सिंहको गुनासो छ ।

जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर हाराहारीको क्षेत्रफल धानखेतीका लागि उपयुक्त मानिन्छ । तर मौसमको अनुकूलता नहुँदा र अन्य खेतीका लागि आवश्यक तयारी हुन नसक्दा जिल्लामा ४०–४५ हजार हेक्टरभन्दा माथि धान रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीको तथ्याङ्क छ ।

पछिल्लो वर्षाले जिल्लामा धान रोपाइँका लागि सहज भए पनि यहाँका अधिकांश सडक हिलाम्य भएका छन् । लगातारको वर्षाले जिल्लाका सडक हिलाम्य भएका छन् । जिल्लाका ग्रामीण सडक हिलाम्य भएर पैदल हिँडडुल गर्न पनि नसकिने बनेका छन् ।

हिउँदमा सडक मर्मतसम्भार र ढल व्यवस्थापनका काम नगरेर असार लागेपछि सडकमा माटो भर्ने काम गरिँदा नयाँ माटो पानीमा घोलिएर ग्रामीण सडक हिलाम्य भएका भङ्गाहा–३ कटैया बस्तीका राजनीतिक, सामाजिक कार्यकर्ता सञ्जय यादव बताउछन् ।

पछिल्लो वर्षाले सडक, पुलपुलेसा र अन्य विकास निर्माणका कामलाई प्रभावित बनाएको छ । हिउँदभरि राजनीतिक खिचातानी हुने र आर्थिक वर्ष सकिनै लाग्दा हतारमा विकास निर्माणका काम थाल्ने पद्धति नै बसेको हुँदा करोडौँ रकम विकासका नाममा बर्खेभेलमा बग्ने गरेका लोहारपट्टी–६ का बेचन शेषको भनाइ छ ।

जिल्लामा पछिल्लो वर्षाले सडक हिलाम्य भएपछि लोहारपट्टी–जनकपुर, बर्दिवास–रौजा–जलेश्वर, गौशाला–सम्सीलगायतका मुख्य सडकमै खाल्डाखुल्डी बढेर आहाल बनेका छन् । विकास निर्माणका कार्य प्रभावित भए पनि खेतीपातीका लागि पछिल्लो वर्षा अमृत नै भएको हुँदा किसान भने सन्तुष्ट देखिन्छन् । रासस

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com