२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

चिसाङ खोलाको दोहन नरोकिए बस्ती जोखिममा पर्छ : मन्त्री थापा

चिसाङ खोलाको दोहन नरोकिए बस्ती जोखिममा पर्छ : मन्त्री थापा

जनसेवा न्युज डटकम संवाददाता

प्रदेश नं. १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाले चिसाङ खोलाको दोहन नियन्त्रण गर्न नसके खोला किनारका बस्ती उच्च जोखिममा पर्ने बताएका छन् । मोरङको बेलबारी–१०, चिसाङ खोला पश्चिम किनार संरक्षण तथा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले बालुवा, गिट्टी र ढुङ्गा मानिसलाई आवश्यक प्राकृतिक वस्तु भएको बताए । उनले तिनको प्रयोग गर्न नजान्दा प्राकृतिक प्रकोपले मानिसलाई दुःख दिइरहेको उल्लेख गर्दै चिसाङ खोलामा ठेक्का लागेको भन्दा बढी दोहन हुँदा चिसाङले दुःख दिइरहेको बताए ।

‘बायो इन्जिनियरिङ गरी चिसाङ खोलाले गर्ने क्षतिलाई न्यूनीकरण गर्न सबै तहका सरकारले सक्रियता देखाउनुपर्छ,’ प्रकृति र वातावरण संरक्षणमा प्रदेश नं. १ सरकार क्रियाशील रहने बताउँदै मन्त्री थापाले भने ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विपत् व्यवस्थापनका लागि हरेक वर्ष जुट्नुभन्दा विपत् व्यवस्थापनका लागि दिगो कार्यक्रम आवश्यक भएको बताए । खोलामा हुने अत्यधिक दोहनले खोला किनार क्षेत्रका बासिन्दा सङ्कटमा पर्दै गएको बताउँदै उनले खोलालाई ग्रिन बेल्ट (हरितपेटी) लगाएर खोला किनारका बस्तीको सुरक्षा गर्नुपर्नेमा जोड दिए । पूर्वपश्चिम राजमार्गको ‘लाइफलाइन’का रूपमा रहेका पुलहरूको संरक्षणका लागि राज्यको मात्र भर नपर्न आग्रह गर्दै उनले समुदायस्तरबाट पनि चासो राख्नुपर्ने बताए ।

प्रदेश नं. १ को वन मन्त्रालयका सचिव डाक्टर सञ्जीव राईले खोलाको कटान रोक्नका लागि बाँस र खयर जातिका दुई हजार ८५० बिरुवा रोप्न लागिएको जानकारी दिए । गतवर्षको कात्तिक २ र ३ गते चिसाङ खोलामा आएको बाढीले पूर्व पश्चिम राजमार्गको कानेपोखरी पश्चिम तर्फको चिसाङ पुल नै ढाल्न लागेपछि तत्काल आपत्कालीन रोकथाम गरिएको थियो । खोलाले पुल उत्तर पश्चिमको दुई बिघा जङ्गल क्षेत्र कटान गरेपछि सोही स्थानमा डिभिजन वन कार्यालय मोरङले वृक्षारोपण गरेको हो ।

सडक डिभिजन कार्यालयले गत माघरफागुनमा चिसाङ खोलाको पश्चिमपट्टिको डिलबाट उत्तरतर्फ साढे १४ सय मिटर उच्च बाँध निर्माण गरेको थियो । बाँधबाट पश्चिम तर्फको कटान भएको जग्गामा बाँस र खयरका बिरुवा रोपिएको हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com