२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

चन्द्रनगरका मुसहर युवायुवतीको बालविवाह नगर्ने प्रतिबद्धता

चन्द्रनगरका मुसहर युवायुवतीको बालविवाह नगर्ने प्रतिबद्धता

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । पोखरियामा लैङ्गिक रुपान्तरणका लागि सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन विषयक कार्यक्रममा वडा नं ४ पोखरियाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका वडाध्यक्ष सञ्जीवसिंह दनुवारले जानकारी दिए ।

मुसहर महिला सशक्तीकरण मञ्चमा आबद्ध भएपछि आफूहरुमा क्षमता विकास र सशक्तीकरणको चेतना वृद्धि हुँदै आएको भन्दै उनीहरुले अब बालविवाह नगर्ने जनाएका हुन् । मासिक बचत्त संकलन गर्दै आएका त्यहाँका बालबालिकाले आफूहरुलाई कमाएको जति सबै खाएर उडाउने समुदाय भनेर आरोप लाग्ने गरेकामा अब समुदायमा नयाँ तरङ्ग ल्याउने बताए । आफूहरुले मासिक गर्ने बैठकको भत्तासमेत बैंकमा खाता खोलेर जम्मा गर्दै आएको समूहकी अगुवा सुनिता माझी (मुसहर) ले बताइन् ।

आफ्नो समुदायको सशक्तीकरणमा लगानी गर्न स्थानीय सरकारसँग आग्रह गर्दै आएको, आफ्नो समुदाय तथा घरपरिवारका सदस्यको खराब व्यवहार सुधारका लागि विभिन्न समयमा तालिम लिने गरेको र तालिममा सिकेका कुरा व्यवहारमा लागू गरिने उनको भनाइ थियो । अगुवा माझीका अनुसार सशक्तीकरण मञ्चका सदस्यका परिवारलाई पनि व्यवहार परिवर्तन र सशक्तीकरणका विषयमा समयसमयमा तालिम दिने गरिएको छ ।

वडाध्यक्ष दनुवारले मुसहर बालबालिकाको जन्म दर्ता गराउन सहयोग गर्ने, दलित विद्यार्थीलाई विद्यालयमा पठाउने वातावरण तयार गर्न वडा कार्यालयले गर्नसक्ने सबै गर्ने बताए ।

सर्लाहीको दलित तथा मुसहर समुदाय लैङ्गिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा अझै निकै पछाडि परेको छ । असमानताको खाडललाई कम गर्न घरपरिवारदेखि नै परिवर्तनको सुरुआत गर्नुपर्दछ भन्ने उद्देश्यले सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन गर्न समयसमयमा तालिम आवश्यक पर्ने साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।

उनका अनुसार जिल्लाका चार स्थानीय निकायका १५० घरपरिवारका ७५० माझी मुसहरलाई लैङ्गिक रुपान्तरणका लागि सामाजिक व्यवहार परिवर्तन तथा मूल्यमान्यतासम्बन्धी तालिम दिइ सकिएको छ ।
मुसहर समुदाय गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हरेक क्षेत्रमा पिछडिएका अगुवा पचुलाल माझीले बताए । बालविवाह, मद्यपान तथा धूमपान, दाइजो प्रथा, जातीय छुवाछूत र विभिन्न सामाजिक मूल्यमान्यता आदिका कारण आर्थिक र सामाजिकरुपमा मुसहर समुदाय कमजोर रहेकाले खराब बानी व्यवहार हटाएर राम्रो कामको सुरुआत गर्नुपर्ने उनको भनाइ थियो । जिल्लाको बरथहवा, हरिपुर, बसबरीया र चन्द्रनगर गाउँपालिकामा मुसहर समुदायलाई समय–समयमा तालिम सञ्चालन हुँदै आएकोे छ ।रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com