२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

प्रदेश १ को नामकरणमा पहिचानलाई नसमेटे बन्दुक उठाउने गोपाल किरातीको चेतावनी

प्रदेश १ को नामकरणमा पहिचानलाई नसमेटे बन्दुक उठाउने गोपाल किरातीको चेतावनी

जनसेवा न्युज डटकम संवाददाता

माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षण गोपाल किराँतीले प्रदेश १ को नामाकरण पहिचानका आधारमा नभए बन्दुक उठाउने चेतावनी दिएका छन् । किराँतले पार्टीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै विगतमा पनि आफूले हतियार उठाएर सशस्त्र संघर्ष गरेको र फेरि परेको खण्डमा संघर्ष गर्न तयार रहेको चेतावनी दिएका हुन् ।

‘पहिचान विरोधी शासकहरु गोर्खाली अन्धराष्ट्रवाद कायम राख्ने अपराध नै गर्दछन् भने हामीले महान जनविद्रोहको रणनीति पनि सँगसँगै लिएका छौं । अतः हिजो सशस्त्र आन्दोलनको नेतृत्व लिएको विरासतका हामीहरु मरेका र हारेका छैनौँ, इतिहासले मागेछ भने पर्याप्त अनुभवसहित फेरि एक पटक बन्दुक उठाउन नपरोस्, यसैसाथ चेतावनी गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आन्तरिक राष्ट्रिय पहिचानको आधारमा प्रदेश नामाकरणका लागि जो जसले आवाज उठाइरहेका छन्, त्यसप्रति हाम्रो पार्टी जोडदार समर्थन गर्दछ । र, जनसमुदायको माग कुल्चने धृष्टता नै गर्दछन् भने प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु तथा पहिचान विरोधी राजनीतिक दलका नेताहरुलाई लखेट्ने जनकार्वाही आन्दोलनको सशक्त आव्हान गर्दछौं । गाउँ–गाउँमा पहिचान दस्ता खडा गरेर अघि बढ्न विशेषतः युवाहरुलाई आव्हान गर्दछौं ।’

किरातीले प्रदेशको नाम किलिको (किराँत, लिम्बुवान, कोचिला) राख्न पनि माग गरेका छन् । ‘पूर्वका आदिवासी जनजाति तथा प्रगतिशीलहरुले अहिले केवल ऐतिहासिक पहिचानको प्रदेश नामाकरण मात्र खोजेका छन् । यो अति सामान्य माग समेत सम्बोधन गरिदैन भने विद्रोह जनताको अधिकार हो,’ उनले भनेका छन्, ‘संविधानको गर्भमा सिद्धान्ततः समाजवादको भ्रूण छ । यसलाई सकुशल जन्माएर हुर्काउने उद्देश्यमा हामीले शान्तिपूर्ण सडक आन्दोलनको कार्यनीति लिएका हौं ।’

उनले पहिचानको आन्दोलनकै लागि विगतमा उठेका विभिन्न संघर्षमा राजेन राई (मण्डेला), कुलमान जिमी, चेतकुमारी राई, अर्जून राई, कटकबहादुर साङपाङ, कुमार चेम्जोङले खुद किराती मोर्चाको जिम्मेवारी रहेकै बेला सहादत प्राप्त गरेको र प्रेम कन्दङवा र जसोदा कन्दङवाले किरात गणराज्य सरकारका सदस्यको हैसियतमा मृत्युवरण गरेको पनि उल्लेख गरेका छन् । आन्दोलनका क्रममा हजारौं धरपकड गिरफ्तारी, यातना र अंगभंगका अनेक किर्तिमानहरु खडा भएको उल्लेख गर्दै उनले प्रदेश १ लाई किरात–लिम्बुवान–कोचिला (किलिको) प्रदेश नामाकरण गर्न सम्बन्धित प्रदेशसभामा अगावै लिखित आग्रह गरेको पनि स्मरण गराएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com