२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

समाजवादमा मात्रै पूर्ण मानवअधिकार : खनाल

समाजवादमा मात्रै पूर्ण मानवअधिकार : खनाल

काभ्रे । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताए ।

मुलुक अहिले पूँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छञ, उनले भने । उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गरे ।

नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रुपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको जिकिर गरे । समाजवादी पार्टी समाजको अगुवा क्रान्तिकारी पार्टी हो, यथास्थितिवादीलाई निमिट्यान्न पारी समाजवाद स्थापना गर्नु नै यो पार्टीको उद्देश्य हो, उनले भने ।

यथास्थितिवादी र पूँजीपति वर्गले नागरिकलाई अझै शोषण र दमन गरिरहेकाले नेपालको मानवअधिकार खुम्चन पुगेको नेता खनालको तर्क थियो । उनले भने, तीनै यथास्थितिवादी, शोषण र दमनको अन्त्य गर्न समाजवादको आवश्यकता परेको हो ।

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटाले लोकतन्त्रका लाभहरू सबै समुदाय र वर्गले समानरूपमा पाउनुपर्ने बताउँदै सबै दलले वर्गीय र लैङ्गिक असमानताको विरुद्धमा लाग्ने प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो । पार्टीका केन्द्रीय सदस्य टोकबहादुर वाइबाले एकीकृत समाजवादी पार्टी स्थापित गर्न सङ्गठन विस्तार अभियानमा लागिएको बताए । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com