२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

मधेस प्रदेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ ।

साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ । घरमुली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा (भुटेको धान, जुनेलो) चढाउँछन् ।

साउन मध्य बर्खाभित्र पर्ने र यो बेला सर्पादिको भय हुने हुँदा नाग पूजाको परम्परा चलेको मैथिल पुरोहित बताउँछन् । घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरिएपछि वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको महोत्तरीको बर्दिबास नगरपालिका–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउछन् ।

पर्वमा घरका चारै सुरका भित्तामा नागचित्र कोरिनसँगै मुख्यद्वारमा कागजमा कोरिएको (बनाइएको) चित्र पनि टाँसिन्छ । घरआँगनको मध्यभागमा गाईको गोबरले लिपेर बनाइएको वेदीमा गोबरकै कुण्डमा घरकी मुख्य गृहिणीले दूध, लावा चढाएर नागमहिमा वर्णन गर्दै घरका सबैको रक्षा गर्न नागदेवतासँग पुकारा गर्छन् ।

मिथिलामा ‘लगपाँच’ पर्व हिन्दू परम्पराका पर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । ‘लगपाँच’लगत्तै राखी (रक्षावन्धन), त्यसलगत्तै कुशे अमावश्या (कुशेऔशी), चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दशैँ, दिवाली (दिपावली, तिहार) र छठ लगालगी आउने हुँदा यो पर्वलाई पूर्वसूचना मान्ने गरिएको पाका मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् ।

हिन्दू परम्परा सबै जीवप्रति समभाव राख्ने र प्रकृति पूजक भएको हुँदा सर्पादिको बढी चहलपहल हुने साउनमा नागपूजाको परम्परा बसेको कर्मकाण्डी पुरोहित झा बताउछन्। हिन्दू मैथिल परम्परामा विभिन्न जीव र वनस्पतिको पूजा आराधना तिनको महत्व झल्कने समय (ऋतु, महिना) अनुसार गरिने चलन रहेको उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com