२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता सिर्जना हुन्छ : महामन्त्री शर्मा

सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता सिर्जना हुन्छ : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताएका छन् ।

डेमोक्रेटिक लयर्स एशोसिएशन झापाको आज चन्द्रगढीमा आयोजना गरेको ‘मुलुकको समसामयिक परिस्थिति’ विषयक अन्तरक्रियामा महामन्त्री शर्माले भने, “राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने हो, सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरताका कारण विदेशी हस्तक्षेप बढ्ने गरेको छ ।”

उनले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो रहेको औँल्याए । आन्तरिक आम्दानीले मात्र मुलुकमा विकासका ठूला आयोजना सञ्चालन गर्न नसकिने बताउँदै महामन्त्री शर्माले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको उल्लेख गरे ।

“मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देश बनाउन एमसिसी स्वीकार गरिएको हो”, उनले भने, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसीसीमाथि नकारात्मक भावना भ्रमका रूपमा फैलाइरहेका छन् ।”

मुलुकले तीव्र विकासको मार्गमा अघि बढ्न नसक्नुको कारण राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति रहेको उनको भनाइ छ । विकास आयोजनाको वास्तविकता नबुझी दलका नेतृत्व लिएका नेताहरूले सबै थोक बुझेको शैलीमा काम गर्दा विकास परियोजना अलपत्र पर्ने गरेको उनले बताए ।

देशको प्रगतिका लागि कम्तीमा १५ वर्षे योजना बनाएर काम गर्न सके मात्र मुलुक अर्काको सहयोगमा चल्नु अवस्थाको अन्त्य हुने उनले विश्वास व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com