२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

सरकार ठेकदारदेखि तस्करसम्म डरायो : सुवाल

सरकार ठेकदारदेखि तस्करसम्म डरायो : सुवाल

जनसेवा न्युज डटकम संवाददाता

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् । खराव ठेकदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उनको भनाइ थियो ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अभिलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गरे । मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको भएपनि वर्तमान सरकारले उनीहरुमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसेकेकोमा उनले आक्रोश समेत व्यक्त गरे ।

सांसद सुवालले सरकारमा गईसकेका राजनीतिक दलहरुको सरकारले काठमाडौं उपत्यकामा देखिएको फोहोरमैला, धुवाधुलो र प्रदुषणको समस्या समाधान गर्न नसक्ने दावी समेत गरे । उनले भने, ‘काठमाडौंमा देखिएको धुवा, धुलो, जाम र फोहोरको समस्या कुनै पनि प्रधानमन्त्रीेले समाधान गर्न सक्नु भएन । यो समस्याको समाधान सरकारमा गएका राजनीतिक पार्टीहरुबाट कहिल्यै हुनेछैन । यो जनताको अभिमत हो । काठमाडौंलाई नै नेपाल ठान्नेहरुबाट देशको विकास हुन सक्दैन । स्वीजरल्याण्डमा प्रदेशलाई क्यान्टोन भनिन्छ । त्यहाँ अध्ययन, उपचार, रोजगारीका लागि एक क्वान्टोनबाट अर्को क्यान्टोनमा गएपछि अन्तत आफ्नै क्यान्टोनमा फर्कनु पर्ने र विकास गर्ने व्यवस्था छ । यस्तो व्यवस्था संसारको धेरै देशमा छ । नेपालमा यस्तो छैन । त्यसकारण नेपालमा पनि यो व्यवस्था गर्न जरुरी छ । सरकारको यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु । काठमाडौं उपत्यकाका सडक निर्माणको धेरै वटा ठेक्का ओगटेर अलपत्र पार्ने निर्माण व्यवसाय शैलुङ कन्ट्रक्सन भएको र यसको अध्यक्ष शारदाप्रसाद अधिकारीको घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बस्नु भएको समाचार आजको कान्तिपुर दैनिकमा पनि प्रकाशित छ । शैलुङ कन्स्ट्रक्सनले नै ठेक्का पाएको भक्तपुर–नगरकोट सडकको काम २०७१ जेठ २२ बाट सूरु भएको हो । २०७३ असार ३ गते भित्र सकिनुपर्ने थियो । यो सडक अबिलम्ब निर्माण गर्न नेपाल मजदुर किसान पार्टी, भक्तपुरले तेलकोटदेखि खरिपाटीसम्म प्रर्दशनसहित माग गरेको पनि ५ वर्ष भयो । तर सरकारहरुले ७ पटक म्याद थपे । नगरकोट र दुवाकोटको सडक लगायत अभिलम्ब पूरा गर्नुपर्ने सडकहरु निर्माण गराउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सरकार खराव ठेकेदारदेखि डराउने, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराउने यस्तो सरकारको औचित्य नभएको जनताको गुनासो व्यापक छ । मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको, धनी भनाउँदाहरुले गरिवमाथि गरेको अत्याचार हो यो । सरकार नालायक भएपछि अत्याचार बढेको हो । ३२ वर्षयता बहुदलवादी दावी गरेकाहरुकै सरकारमा मिटरव्याजी साहुहरुको राज चलेकोमा जनताको ठूलो विरोध छ । नेपालका बैंकहरुले ४० खर्व कर्जा प्रवाह गरेकोमा १ सय परिवारको कब्जामा ३० खर्व रुपैयाँ रहेको र त्यसमध्ये केही वर्तमान संसदमा सदस्यहरु समेत त्यसरी कर्जा कब्जा गर्नेमा रहेको समाचार पनि छ । यो ऋण प्रवाहको छानविन हुन जरुरी छ । शासक दलका नेता र प्रधानमन्त्रीलाई त्यसरी कर्जा लिएका सांसदहरु कुनकुन हुन ? यहाँ बोल्न दिन जरुरी छ । ’

सांसद सुवालले सांसदहरुले नै कर्जा प्रवाहमा हालीमुहाली गरेको देखिएको आरोप लगाउँदै सो सम्बन्धमा तत्काल छानविन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com