२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

मिडिया काउन्सिल विधेयकका त्रुटीहरू संशोधन गरी पारित गरियोस् : प्रेस युनियन

मिडिया काउन्सिल विधेयकका त्रुटीहरू संशोधन गरी पारित गरियोस् : प्रेस युनियन

जनसेवा न्युज डटकम संवाददाता

नेपाल प्रेस युनियनले प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरू संशोधन गरेर विधेयक पारित गर्न माग गरेको छ । जनकपुरमा सम्पन्न युनियन केन्द्रीय समितिको दोस्रो बैठकबाट १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार प्रतिकुल हुने गरी कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानून, नियमावली नबनाउन जोडदार माग गरको हो ।

संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममा बाधा पुग्ने तथा प्रस्तावित मिडिया काउन्सिलको संरचनाबाट काउन्सिल स्वायत्त हुनेमा आशंका देखिएकाले त्यसलाई सच्याउन युनियनले माग गरिएको उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए।

त्यस्तै श्रमजीवी पत्रकारहरुको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐनले प्रत्याभूत गरेका सबै सेवा सुविधा उपलब्ध गराउन तथा श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोष निर्माण गर्न सञ्चार प्रतिष्ठानहरुसँग युनियनले माग गरेको छ ।

युनियनले पत्रकारहरुको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि युनियनका शाखाहरुसँगको समन्वयमा चालु आर्थिक वर्षभित्र ७३ वटा क्षमता अभिवृद्धिका तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै एक पालिका एक पत्रकारको अवधारणा अघि बढाउँदै पत्रकार क्षमता विकासलाई विशेष प्राथमिकता दिने निर्णय पनि गरेको छ ।

लोक कल्याणकारी विज्ञापन दोब्बर बनाउन, भुक्तानी प्रक्रियालाई सहज बनाउन तथा सञ्चारमाध्यमको दर्ता, नवीकरण, सूचीकरण, वर्गीकरण तथा प्रेस पास वितरणको व्यवस्थालाई सरल र सहज बनाउन एवं स्वरोजगारमूलक सञ्चारमाध्यमहरुको संरक्षण र संवर्द्धनमा विशेष जोड दिन माग समेत गरेको छ ।

यही मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमार्फत नेपालको संविधान र लोकतान्त्रिक आन्दोलनका उपलब्धीहरुको रक्षा एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार लगायतका लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य मान्यता प्रतिको प्रतिवद्धता अनुमोदित हुने विश्वास व्यक्त गर्दै निर्वाचनका दौरान समाचार संकलन र सूचना संप्रेषणका लागि सञ्चारमैत्री वातावरण निर्माण गर्न निर्वाचन आयोगसँग युनियनले आग्रह गरेको छ ।

भदौ २३ र २४ गते सम्पन्न बैठकले मिथिला संस्कृति, परम्परा र मैथिली भाषाको प्रचार प्रसार प्रति प्रतिबद्धता व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनको अग्रणी भूमिका रुपमा रहेको मधेश प्रदेशको समग्र विकास एवं मधेशको पहिचान र अधिकारका लागि पत्रकारिताको माध्यमबाट रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै नेपालकै पहिलो र एकमात्रै रेल सेवाको रुपमा रहेको जनकपुर–जयनगर रेलसेवा अन्तर्गत रहेको शहीद सरोज कोइराला हल्ट बन्द रहँदा स्थानीयले समस्या भोग्नुपरेको भन्दै सो हल्ट तत्काल सञ्चालनमा आउनुपर्ने स्थानीयको मागप्रति युनियनले ऐक्यबद्धता जनाएको छ ।

त्यस्तै युनियनको संघीय संरचनालाई पूर्णता दिन प्रदेश समितिहरुको अधिवेशन २०७९ मंसिर २५ देखि पुस २५ गतेभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com