२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

मोन्टसेराट : प्रकोपबाट उठ्दै क्यारेवियन टापुको फुटबल टोली

मोन्टसेराट : प्रकोपबाट उठ्दै क्यारेवियन टापुको फुटबल टोली

सन् १९९५ को जुलाईमा मोन्टसेराटको साउफरायर हिल्सका ज्वालामुखी ठूलो मात्रामा विस्फोट हुन थाले, जसको प्रभाव निकै विकाशकारी थियो । क्यारेवियन टापुको उक्त क्षेत्रको अधिकांश भाग खरानीले छोपियो । हावामा सल्फर डाइअक्साइडको धुवा भरियो । राजधानी प्लाइमाउथ निषेधितझै भयो ।

पाँच वर्षसम्म ज्वालामुखी विस्फोट भएपछि दुई तिहाइ क्षेत्र मानिसको बसोबास गर्न लायक रहेन । ११ हजार ५ सय मध्ये दुई तिहाइ मानिस बसाइ सरे ।

खासमा मोन्टसेराट भनेको ब्रिटिस अभरसिज टेरिटरिजभित्र पर्ने क्षेत्र तथा स्वशासित भए पनि युकेको नियन्त्रणमा रहेको छ । मोन्टसेराटका करिब ४ हजार ५ सय मानिस इंग्ल्यान्डमा बसाइ सरे, विशेषगरी लन्डन र बर्मिङघममा ।

मोन्टसेराटका मानिसहरूबीच आघात र संघर्षसँगै एकताको भावना पनि छ । जुन उनीहरूको राष्ट्रिय फुटबल टोलीमा देख्न सकिन्छ । अझ बेलायमा बसोबास गरिरहेकाहरूले आफ्ना पुर्खाहरूका लागि फुटबलबाट एकताको संदेश दिदैछन् ।

मोन्टसेराटले पहिलो फुटबल खेल सन् १९९१ मा खेल्यो र उसले सन् १९९६ मा मात्र फिफाको सदस्यता पायो । वर्षौसम्म उसको फिफा वरीयता एकदमै खराब अवस्थामा थियो ।

सन् १९९१ देखि २०१२ सम्म २७ खेल खेल्दा मोन्टसेराटले केवल दुई खेल जित्यो । ती दुवै जित बेलायतकै अधिनमा रहेको एन्गुएलाविरुद्ध थियो ।

ज्वालामुखी विस्फोट भएपछि मोन्टसेराटले सन् २००४ मा पहिलो पटक घरेलु मैदानमा सन् २००६ को विश्वकपका लागि छनोट खेल आयोजना गरेको थियो । पहिलो चरणको छनोट आयोजना गरेको मोन्टसेराटले बर्मुडासँग ७-० को पराजय भोग्यो ।

लामो समयसम्म कमजोर टिमको रुपमा रहेको मोन्टसेराटको अवस्था विस्तारै परिवर्तन हुँदैछ । मोन्टसेराटका लागि २१ खेल खेलेका एलेक्स डायरका अनुसार टिम अव्यवस्थित थियो । आर्थिक र सुविधाका हिसाबले केही पनि नभएको एलेक्सको अनुभव छ ।

नेसनल लिगमा वेयल्डस्टोनका लागि खेल्ने ३२ वर्षीय मिडफिल्डर एलेक्सले स्विडेन, नर्वे र कुवेतमा समेत खेलिसकेका छन् । एलेक्सका बुवापट्टीका हजुरबुवा र हजुरआमा मोन्टसेराटमै हुर्किए । एलेक्सले भने मोन्टसेराटका लागि सन् २०११ मा डेब्यु गरेका थिए । सन् २०११ मा मोन्टसेराटको फिफा वरीयता सबैभन्दा खराब अर्थात २ सय ६ औँ स्थानमा थियो । तर अहिले भने १ सय ७८ औँ स्थानमा आइपुगेको छ ।

एलेक्सका अनुसार सो समयमा टिमसँग एकैखालको ट्रयाकसुट पनि थिएन । तर अहिलेको अवस्था परिवर्तन भएको छ । मोन्टसेराटको टिमले राम्रो स्पोन्सर पाएको छ र टिमले जित हात पारिरहेको छ ।

सन् २०१२ देखि २०१७ सम्म मोन्टसेराटले केवल ७ वटा खेल मात्र खेल्न पायो । तर सन् २०१८ मा कोन्काकाफ नेसन्स लिगको सुरुवातसँगै उसले आफूजस्तै तथा त्यो भन्दा पनि माथिल्लो स्तरका टिमसँग खेल्ने अवसर पाएको छ ।

स्कटिस प्रशिक्षक विली डोनाचीको प्रशिक्षणमा मोन्टसेराटले १८ खेल खेल्यो जसमध्ये ८ खेलमा जित हात पार्‍यो । टिमको सफलतासँगै नयाँ नयाँ खेलाडीहरू पनि आउन थालेका छन् । र खेलाडी छनोटमा अब कडा प्रतिस्पर्धा हुँदै गएको छ । तर यो लामो प्रक्रिया भएको ३६ वर्षीय फरवार्ड ब्राडली उड्स बताउँछन् ।

अहिले टिममा इंग्लिस प्रिमियर लिग क्लब नटिङघम फरेस्टका स्ट्राइकर लायल टेलर, सालफोर्ड सिटीका पूर्वमिडफिल्डर म्याटी विलोक पनि छन् ।

युरोपियन च्याम्पियनसीपझै रहेको गोल्डकपका लागि सन् २०१९ मा झन्डै मोन्टसेराट छनोट भएका थिए तर गोलअन्तरका कारण इएल साल्भाडोर भन्दा पछि पर्‍यो । एलेक्सका अनुसार पछिल्ला समयमा मोन्टसेराटले पराजय भोगपनि जित पनि हात पार्दै गएपछि सर्वसाधारण खुसी छन् ।

उनीहरूलाई खुसी दिने अवस्था आएको छ । मोन्टसेराटको लक्ष्य भनेको गोल्डकप खेल्नु हो तर सन् २०२२-२०२३ को नेसन्स लिगका सुरुवाती ४ मध्ये केवल एक खेलमा जित हात पारेका कारण उसका लागि छनोट हुने सम्भावना कठिन देखिन्छ । तर पनि उनीहरू सही दिशामा छन् ।

(बीबीसी इंग्लिसका लागि सिन कोलले तयार पारेको आलेखलाई इकागजका सञ्जीव शाहले अनुवाद गरेका हुन्)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com