२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

उम्मेदवार भोट माग्दै खेतबारीमा

उम्मेदवार भोट माग्दै खेतबारीमा

जनसेवा न्युज डटकम संवाददाता

जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।

निर्वाचन आयोगले उम्मेदवारको प्रचार–प्रसार अभियानका लागि सभा, समारोह, आमसभा गर्नका लागि मतदान हुने दिनअघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवार घरदैलो अभियानमा छन् ।

म्याग्दीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा (क) मा उम्मेदवार बेका नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी र (ख)मा उम्मेदवार बन्नुभएका रेशम जुग्जालीसहित निर्वाचन प्रचार–प्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएका छन् ।

प्रदेशसभा (क)अन्तर्गतको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीमा कांग्रेसका गर्वुजा र प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीको टोलीले घरदैलो गरिरहेका छन् । जिल्लास्तर, दुवै प्रदेशसभा क्षेत्र र छवटै स्थानीय तहमा गठबन्धनको तर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै चुनाव प्रचार–प्रसार समिति गठन र उम्मेदवारसहितको टोलीले घरदैलो अभियान गर्न सुरु गरेको मूल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केवी)ले  जानकारी दिए ।

गठबन्धनको तर्फबाट प्रदेशसभा (ख))का उम्मेदवार जुग्जालीसहितको टोली घरदैलो अभियान लिएर धवलागिरि गाउँपालिका–१ गुर्जा पुगेका छन् । मालिका गाउँपालिकाभित्रका सबै वडामा चुनाव प्रचार–प्रसार समिति गठन गरी अभियानको सुरुआत गरेको टोलीले धवलागिरिको सबैभन्दा विकट बस्ती मानिने गुर्जाबाट अभियानको थालनी गरेको हो ।

टोलीमा प्रदेशसभा ९ख० का संयुक्त निर्वाचन प्रचार–प्रसार समितिका संयोजक टङ्कप्रसाद पुन, प्रदेशसभा सदस्य पदका उम्मेदवार जुग्जाली, मालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसका युवानेता श्रीप्रसाद रोकालगायत सहभागी हुनुहुन्छ ।

जिल्लामा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले)ले समेत घरदैलो अभियान चलाएको छ । एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षेत्रीको टोलीले रघुगङ्गाको विभिन्न वडा, टोल र बस्तीमा पुगेर मतदातासमक्ष भेटघाट सुरु गरेका छन्। एमालेको यस टोलीले रघुगङ्गा–८, कुइनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो ।

प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट गरेका छन् । जिल्लामा राप्रपा, नेशनल मङ्गोल अर्गनाइजेशनलगायतका दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूलेसमेत घरदैलो अभियान चलाएका छन् ।

आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लामा मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको छ । दलहरूले प्रचार–प्रसार गर्ने मुख्य अवधिमै स्थानीय तहमार्फत निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई गरी प्रत्यक्षतर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क)मा पाँच र (ख)मा छ उम्मेदवार बनेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com