२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

५० औँ हप्तामा डेंगु सङ्क्रमण शून्यमा झर्ने सरकारको प्रक्षेपण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण सुरु भएको ५० औँ हप्तामा डेंगु सङ्क्रमण शून्यमा झर्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले ५० औँ हप्तामा सङ्क्रमण शून्य हुने प्रक्षेपण गरिएको बताएका हुन् ।

नेपालमा डेंगु सङ्क्रमण ४२ औँ हप्तामा प्रवेश गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३६ औँ हप्तामा उच्च विन्दुमा पुगेको थियो । नेपालमा जाडो मौसम सुरु भए पनि डेंगुका केसहरू धमाधम पुष्टि भइरहेका छन् । तीन महिनायता ७७ जिल्लामा ४६ हजारभन्दा धेरै डेंगुका केस पुष्टि भइसकेको छ भने ५२ जनाको ज्यान गएको छ । सरकारको प्रक्षेपणअनुसार अझै ८ हप्तासम्म डेंगुका केसहरू पुष्टि हुने क्रम जारी रहन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सङ्क्रमणबाट जोगिन डेंगु रोग नियन्त्रणका लागि बीटीआई कार्यविधि बनाएको छ । कार्यविधि अनुसार अगाडि बढेमा केही हदसम्म डेंगु नियन्त्रण गर्न सहजता हुन सक्ने महाशाखाको भनाई छ ।

बीटीआई माटोमा पाइने जैविक वा प्राकृतिक रूपमा हुने व्याक्टेरिया हो । लामखुट्टे नियन्त्रणका लागि बीटीआई धेरै रूपहरूमा बजारमा पाइने गर्छ । जस्तै डन्क्स, ट्याब्लेट, गोली, दाना वा तरल पदार्थसहित हुन्छ । बीटीआईमा प्रत्येक हप्ता पानी खाली गर्ने, ढाक्न वा पल्टाउन नसकिने कन्टेनरहरूमा प्रयोग गर्न सकिन्छ । ईडीसीडीका अनुसार वर्षा ब्यारेल, झरना, सजावटी पोखरीहरू, र प्रयोगमा नभएका पोखरीहरुमा ह्यान्डहेल्ड  स्प्रेयरहरु वा हातले टस गरेर प्रयोग सकिन्छ ।

बीटीआईले कसरी काम गर्छ ?

लामखुट्टेको लार्भाले बीटीआई खाएपछि स्पोरले पेटमा विषाक्त पदार्थ छोड्छ । जसले गर्दा लार्भाले सामान्य रूपमा खाना खान छोड्छ र मर्छ । बीटीआई सक्रिय रूपमा खाने लार्भाविरुद्ध मात्र प्रभावकारी हुन्छ । यसले लामखुट्टे प्युपा वा वयस्कहरुलाई भने असर गर्दैन ।

बीटीआई स्तनपायी, चराहरू र माछाहरूको लागि गैर विषाक्त हुन्छ । प्रयोगशालामा गरिएका अध्ययनहरूमा सामान्य प्रयोग पछि हुने दीर्घकालीन प्रभावहरू भने अवलोकन गरिएको थिएन । यद्यपि केही अध्ययनहरूमा बीटीआई प्रयोगबाट सम्भावित दीर्घकालीन प्रभावहरू नजिकबाट जाँच गरिएको ईडीसीडीले जनाएको छ । केही अध्ययनहरूले सिमसारमा २३ वर्षको अवधिमा बीटीआईको निरन्तर प्रयोगले जैविक विविधतामा समग्र ह्रास निम्त्याउन सक्ने देखिएको छ ।

डेंगु रोग एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट लाग्छ । यो लामखुट्टे घरभित्र वा बाहिर दुवै ठाउँमा बस्दछ र उज्यालोमा टोक्ने गर्छ । डेंगु रोग नियन्त्रण विभिन्न उपायहरूमध्ये लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्नु प्रमुख मानिने सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन् ।

वयस्क लामखुट्टे ३० दिन बाँच्ने गर्छ । जसले घरघरमा रोग सारी रहने भएकाले वयस्क लामखुट्टेको घनत्वलाई पनि छिटोभन्दा छिटो नियन्त्रण गर्न अति आवश्यक हुन्छ । वयस्क लामखुट्टे घरभित्र छिरेपछि प्रायः टेबलको तल, पर्दा पछाडि, दराजको पछाडि, पलङ राखिएको ठाउँको कुना कुनामा, अँध्यारो ठाउँहरूमा लुकेर बस्ने गर्छ । डेंगु सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकी रोग सारी रहन्छ ।

एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टे विनाश गर्नका लागि डेंगु रोग देखिएको घरलाई केन्द्रविन्दु मानेर त्यसको १०० मिटर वरिपरिको घरमा लक्षित छिड्काउ गर्न सकिने इपिडिमियोलोजो तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसरी यस्ता स्थानमा कीटनाशक विषादी छर्कँदा लामखुट्टे विषादीको सम्पर्कमा आएपछि उनीहरूको आयु कम हुने ईडीसीडीले जनाएको छ ।  जसका कारण आयु छोटिँदा र विनाश भई रोग नियन्त्रणमा सघाउ पुग्ने भएकाले घर, कार्यालय लगाएमा सम्भावित स्थानहरूमा छरेमा अझै पनि डेंगु सङ्क्रमणबाट बाच्न सकिने सम्भावना हुन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com