२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

विरासतको भाष्य फेर्न चाहन्छिन् विद्या

 

८ मंसिर, पोखरा । नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले लगातार तीन पटक र त्यसपछि उनकी पत्नी विद्या भट्टराईले चुनाव जितेको कास्की क्षेत्र नम्बर २ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा होला भनेर धेरैले अनुमान गरेकै थिएनन् ।

यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीसहितको सत्तारुढ गठबन्धन एमालेको विपक्षमा थियो । गठबन्धनको समर्थनमा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बराल र एमाले उम्मेदवार विद्याबीच प्रमुख प्रतिस्पर्धाको अनुमान गरिएको थियो । तर देशका धेरै सहरी क्षेत्रमा जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यहाँ पनि प्रतिस्पर्धामा आए ।

कास्की-२ मा यसअघि एमाले र कांग्रेसबाहेक तेस्रो पार्टी कहिल्यै प्रतिस्पर्धामा थिएन । तर यसपटक प्रतिनिधिसभाको मतपत्रमा कांग्रेसको चुनाव चिह्न रुख थिएन भने प्रदेशसभा १ मा पनि कांग्रेस र एमालेबाहेकको दल नेकपा माओवादी केन्द्र प्रतिस्पर्धामा थियो । मतगणना सुरु हुँदा भने स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले सुरुवाती अग्रता लिए । राप्रपाका उम्मेदवार चुनाव चिह्नका सुवर्णराज पन्तले समेत सत्ता गठबन्धनका उम्मेदवारलाई उछिने ।

रास्वपा र राप्रपामा कास्की-२ को मत बाँडिदा एमाले दबदबा रहेको वडाबाट अगुवाइ गर्दै विद्याले चुनाव जितिन् । एमालेको प्रभाव क्षेत्र मानिने वडा नम्बर १७, २१, ३३ र २० बाट विद्याले मतान्तर बढाइन् र रास्वपाका उम्मेदवारलाई हराउँदै चुनाव जितिन् ।

गठबन्धनका उम्मेदवार तेस्रो बने । एमालेमा हुँदा अवसर नपाएका भनिएका श्रीनाथले सहानुभूतिको मत तान्न सक्ने र स्थानीय तहको मतपरिणाम अनुसार गठबन्धनको मत समेत धेरै रहेकाले विद्यालाई भारी पर्न सक्ने अनुमान समेत गरिएका थिए ।

तर यसअघि रुख चिह्नमा भोट हालेका मतदाताले पनि यसपटक आफ्नो चुनाव चिह्न नहुँदा घण्टी र हलोलाई मत दिएको निर्वाचनको परिदृश्यले देखायो । घण्टीले यसअघि सूर्यमा भोट हालेका मतदातालाई पनि आकर्षित गरेको नतिजाले देखाएको छ ।

राजनीति कसैको व्यक्तिगत विरासत र सहानुभूतिमा भन्दा बढी काम, विचार र एजेण्डाले निर्माण गर्छ भन्ने यसपटक विद्याले देखाउन चाहन्छिन् । सधैं रवीन्द्रको व्यक्तिगत विरासतमा जोडेर होइन, निष्ठा र विचारको राजनीति गरेर आफूलाई आफ्नै विरासतमा उभ्याउन चाहन्छिन् ।

रास्वपाका कँडेलले लगातार अग्रता लिंदा सुरुमा एमालेजनको ढुकढुकी बढेको थियो । अन्तिम मत परिणामअनुसार अघिल्लो पटकभन्दा झण्डै आधा मतान्तरले एमालेकी विद्याले दोस्रो पटक चुनाव जित्न सफल भएकी छन् । उपनिर्वाचनमा ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी विद्याले यसपटक ४ हजार ५०३  मतान्तरले स्वतन्त्रका माधवप्रसादलाई हराइन् ।

भट्टराईले १६ हजार ९९८ मत ल्याउँदा कँडेलले १२ हजार ४९५ मत ल्याउन सफल भए । गठबन्धनका उम्मेदवार श्रीनाथले जम्मा ९ हजार ६५९ मत ल्याए । २०७४ सालको निर्वाचनमा एमालेबाट रवीन्द्र अधिकारीले सोही क्षेत्रमा कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५४६ मतान्तरले जितेका थिए ।

कास्की २ मा ७९ हजार १३८ मतदाता छन् । जसमध्ये ४९ हजार ९२० मत खसेको छ । यो क्षेत्रमा ५ जना स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका थिए । रवीन्द्रको निधनपछि उपनिर्वाचनमार्फत दुई दशकपछि मूलधारको राजनीतिमा होमिएकी विद्याले दोस्रो पटक चुनाव जितेर पूर्ण कार्यकालका लागि संसद छिरेकी छन् ।

फेर्न चाहन्छिन्, विरासतको भाष्य

विद्यार्थी तथा महिला आन्दोलन हुँदै नेकपा एमालेको शिक्षा विभागकी सदस्य विद्या भट्टराई संसदीय निर्वाचनमा होमिनुपर्ने प्रमुख कारण दुःखद् थियो । १५ फागुन २०७५ मा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा प्राध्यापनमा रमाइरहेकी विद्यालाई एमालेले उम्मेदवार बनायो ।

अनेरास्ववियूको सचिव भइसकेर विद्या २०५५ सालमा विवाह भएपछि रवीन्द्रलाई सघाउनकै निम्ति पार्टीको सहायक भूमिकामा थिइन् । समाजशास्त्रमा एमफिल गरेकी उनी २०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायी रुपमा उपप्राध्यापकको जागिरे थिइन् । विद्याले राजनीतिमा फर्किनेबारे सोचेकै थिइनन् ।

दुई दशकपछि मूलधारको राजनीतिमा फर्किएकी विद्यालाई पति गुमाउनुको पीडा हुँदाहुँदै पनि पति रवीन्द्रसँग जोडेर गरिने तिखा प्रश्नहरु खेप्नुपर्‍यो । जतिबेला विद्यालाई सबैभन्दा बढी रवीन्द्रको सहानुभूतिको मत तान्न एमालेले उम्मेदवार बनाएको विषय उठ्यो, जुन कुरालाई विद्या पनि नकार्थिनन् । ‘रवीन्द्रको विरासत धान्न राजनीतिमा आएकी विद्या’ भन्ने भाष्य अहिले पनि कास्कीमा निर्माण भइरहेको छ ।

राजनीति कसैको व्यक्तिगत विरासत र सहानुभूतिमा भन्दा बढी काम, विचार र एजेण्डाले निर्माण गर्छ भन्ने यसपटक विद्याले देखाउन चाहन्छिन् । सधैं रवीन्द्रको व्यक्तिगत विरासतमा जोडेर होइन, निष्ठा र विचारको राजनीति गरेर आफूलाई आफ्नै विरासतमा उभ्याउन चाहन्छिन् ।

अघिल्लो पटक रवीन्द्रको निधनपछिको सहानुभूति र विरासत भनिए पनि यो निर्वाचन त्योभन्दा बढी आफ्नै काम, विचार र निष्ठाको जगमा जितेको विद्या बताउँछिन् ।

‘आज मैले विरासतभन्दा पनि कामकै निरन्तरताकै हिसाबले विजय हासिल गरें भन्ने लाग्छ । रवीन्द्रको छाया ममा देख्नु गलत ठान्दिनँ, तर त्योभन्दा बढी मेरा काम, व्यवहार, विचारहरु नै प्रभावी हुन्छन्,’ चुनाव जितेपछि विद्याले प्रतिक्रिया दिइन् ।

लोकप्रिय नेताको छवि बनाएका रवीन्द्र कास्की-२ मा देशकै नेतृत्व गर्न सक्ने आशा र भरोसाका केन्द्र थिए । रवीन्द्रको राजनीतिक राजमार्ग फराकिलो पार्नकै निम्ति विद्यार्थी तथा महिला आन्दोलनबाट विद्याले विभागहरुमा रहेर सहयोगी भूमिका खेलेकी थिइन् ।

सन्तानको हेरचाहदेखि प्राध्यापन समेत गरिरहेकी विद्या रवीन्द्रको निधनपछि राजनीतिमा फर्किनुलाई धेरै अस्वभाविक रुपमा हेरे । तर विद्या भने विशेष घटनाक्रमले राजनीतिको मूलधारमा फर्किए पनि त्योभन्दा अघि पनि आफू कहिल्यै राजनीतिबाट टाढा नरहेको बताउँछिन् ।

‘रवीन्द्रपछि आएका कारण आज पनि व्यक्तिगत सम्बन्धका हिसाबले मात्र हेरिएको छ । म एउटा प्राध्यापक हो, एउटा समाजशास्त्री हो, म एउटा छुट्टै नागरिक हो भन्ने पाटोबाट हेरिएको छैन,’ विद्या भन्छिन्, ‘कोही मान्छेको छोराले जित्दा हामीले सामान्यीकरण गर्छौं, तर एउटा महिला राजनीतिमा आउने कुरालाई अर्कै भाष्य तयार गर्नु गलत हो ।’

विद्यालाई विश्वासको मत

उपनिर्वाचनमार्फत संसद छिरेकी विद्या यसपटक चुनाव लड्न उत्पातै लालयित थिइनन् । तर कास्कीका नेताहरुले विद्यालाई नै दोहोर्‍याए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पाँच दलीय गठबन्धनले एमाले अप्ठ्यारो परिस्थितिमा चुनावमा होमिन आग्रह गर्दै टिकट दिए ।

गठबन्धनका मत छरिंदा एमालेकी विद्याले भने एमालेसहित ठूलो जनाधारलाई आफ्ना पक्षमा पारिन् । पार्टीले विश्वास गरेर टिकट दियो, मतदाताले विद्यालाई मत दिए र दोस्रो पटक संसद पठाए । उपनिर्वाचनमार्फत संसद छिरे पनि नेकपा विवादले लामो समय संसद अनिर्णित बन्यो । नेकपा पुरानै पार्टी बन्यो भने एमाले समेत विभाजन भएर एकीकृत समाजवादी जन्मियो ।

नेकपा विवाद र संसद विघटनमा कास्की-२ की सांसद विद्या मौन बसिन् । कुनै पनि पक्षको आन्दोलनमा चर्को भएर लागिनन् । कसैलाई गाली वा विरोध गरिनन् । तर पार्टी विभाजन हुँदा एमालेतिरै बसिन् । तार्किक र स्पष्ट वक्ताको परिचय बनाएकी विद्यालाई कास्कीमा पनि अब्बल नेताको रुपमा हेरिएको छ । प्रतिस्पर्धीसँग पनि शिष्ट र मित्रवत् शैलीमा प्रस्तुत हुनु, तार्किक शैलीमा आफ्नो विचारलाई राख्नुलाई आफ्नो विशेषता नै बनाएकी विद्यालाई कास्की-२ मतदाताले विश्वासको मत दिएका छन् ।

संसदमा लामो समय प्रभावकारी भूमिका देखाउन नपाए पनि विद्याले जति संसदमा रहिन्, नीति निर्माणमा सक्रिय रहिन् । नीति निर्माणमा भाग लिने, तथ्यांक विधेयक, नागरिकता विधेयक लगायतमा संशोधन हाल्ने र छलफलमा सहभागी हुने गरिन् । विद्या प्राध्यापनमा रहँदा पनि लैंगिक तथा जातीय विभेदका विरुद्ध आवाज उठाउने, बहस र छलफलहरुमा भाग लिने गर्थिन् ।

‘एउटा कुरा म सांसद हुँ, पहिलो काम मेरो संसदमा प्रभावकारी प्रस्तुति दिने हो । दोस्रो मेरो क्षेत्रका समस्या संसदमा आवाज बनाउने हो र तेस्रो यहाँका विकास निर्माणका काम गर्ने हो । स्थानीय तहदेखि संघ सरकारसम्मलाई उत्तरदायी बनाउने हो,’ निर्वाचित भएपछि विद्याले भनिन् ।

निर्वाचन क्षेत्रमा विद्याका प्रतिवद्धताहरु

निर्वाचन क्षेत्रमा विद्याबाट रवीन्द्रपछिको अभाव पूर्ति होस् भन्ने खोजिरहेका छन् । विकासका योजनाको नेतृत्व गर्ने, मतदातालाई उत्प्रेरित गर्ने रवीन्द्रका जुन गुणहरु थिए, त्यही भिजन र गुणसहित अगाडि बढ्न मतदाताले प्रोत्साहन गरिरहेको विद्या बताउँछिन् । कानुन निर्माणमा सहभागी भएर मात्रै निर्वाचन क्षेत्रमा लोकप्रिय हुन नसकिने बुझेकी विद्याले केही प्राथमिकताहरु पनि बनाएकी छन् ।

‘पहिलो कुरा त मेरो क्षेत्रमा सुकुम्बासीहरु छन्, त्यसको व्यवस्थापन गर्नु छ । विपन्नताको मापन गरेर श्रमिकहरुलाई व्यवस्थित र रोजगारी दिने कुरामा सोच बनाउनुपर्छ,’ विद्याले भनिन्, ‘आज पनि महिला उद्यमशील हुन सकेका छन्, उनीहरुलाई उद्यमी बनाउनुपर्छ । आज पनि लैंगिक र जातीय असमानताका कुरा कायम छन्, त्यसलाई समाधान गर्ने कार्यक्रम बनाउन सरकारलाई प्रभावकारी बनाउन भूमिका खेल्छु ।’

पोखरामा पर्यटकीय विकासका निम्ति ठूला-ठूला कार्यक्रम ल्याउन विज्ञहरुसँग छलफल गरेर भूमिका खेल्ने विद्याले बताइन् । महानगरीय विकासको मोडल कस्तो हुन्छ भनेर कार्यक्रम बनाउन लागिपर्ने उनी बताउँछन् ।

सार्वजनिक जग्गा र सम्पत्ति कसरी प्रयोग गर्ने भनेर योजना बनाउन नेतृत्व गर्ने विद्याको प्रतिवद्धता छ । पोखराको वर्षौंदेखि समस्याको रुपमा रहेको बसपार्कलाई व्यवस्थित र दिगो समाधानका निम्ति स्थानीय र संघ सरकारको समन्वयमा काम गर्ने उनी बताउँछिन् ।

पोखराको ल्याण्डफिल्ड निर्माण र अन्तर्राष्ट्रिय विमानस्थललाई यहाँका नागरिकसँग जोड्न योजनाहरु बनाउन भूमिका खेल्ने विद्याको भनाइ छ । सार्वजनिक शिक्षा र स्वाथ्यलाई सर्वसुलभ बनाउनै पर्ने भएकाले नीति निर्माण तहमै भूमिका देखाउन विद्या चाहन्छिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com