२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

काठमाडौंको शैक्षिक गुणस्तर वृद्धि गर्न तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर

काठमाडौंको शैक्षिक गुणस्तर वृद्धि गर्न तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न तीनवटा संस्थासँग सहकार्य सम्झौता गरेको छ ।

उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । दोस्रो पक्षका तर्फबाट केन्द्रीय गृह विज्ञानका प्रमुख प्राडा जयालक्ष्मी प्रधान, कारखानाका निर्देशक सचेत मानन्धर र वन्यजन्तु संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जन रहेका छन् ।
उपमेयर डंगोलले, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत शैक्षिक गुणस्तरमा रुपान्तरण गर्न चाहेको बताइन् ।

कोसँग के का लागि सहकार्य ?

१‍‍.त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान

पूर्व प्राथमिक तहमा बालमनोविज्ञान अनुरुप दण्डरहित शिक्षण सहजीकरणका लागि केन्द्रीय विभागले सहजकर्ताहरु पठाउनेछ । विभागको स्नातकोत्तर तहमा बाल विकास र लैङ्गिक सामाजिकता विषयमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्न सहजकर्ताका रुपमा पठाइनेछ । विभागले पठाउने ४० जना विद्यार्थी महानगरको शिक्षा विभागले खटाउने विदालयमा गएर बालमैत्री शिक्षण सिकाई, शैक्षिक सामग्री निर्माण, विद्यार्थीमैत्री पोशाक, अभिभावक शिक्षा, विषयगत दृष्टिकोण ९थिमेटीक अप्रोचका क्षेत्रमा सहजीकरण गर्नेछन् ।

२. हरित विद्यालय निर्माणका लागि वन्यजन्तु संरक्षण संघसँगको सहकार्य

विद्यालयहरुलाई हरित विद्यालयका रुपमा रुपान्तरण गर्न तथा विद्यार्थीहरुमा वातावरणीय ज्ञान दिन विद्यालयहरुमा इको क्लव निर्माण तथा सञ्चालनमा संघले सहजीकरण गर्नेछ । हरित विद्यालयका लागि वातावरण शिक्षा, विपद जोखिम व्यवस्थापन, पानी व्यवस्थापन तथा सरसफाई, जलबायु परिवर्तन न्युनीकरण, दिगो विकास, पोषण तथा भू संरक्षणलगायत कार्यक्रम सञ्चालन हुनेछन् । यसका लागि आर्थिक तथा प्राविधिक स्रोत जुटाउन कार्ययोजना तयार पारिनेछ ।

यी क्षेत्रमा क्षमता विकास गर्न तालिम, कार्यशाला, गोष्ठीलगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

३. खेल्दै सिक्दै गर्ने शिक्षण विधिका लागि कारखानासँग सहकार्य 

शिक्षा विभागले उपलब्ध गराएका ५ वटा विद्यालयमध्ये एउटालाई हब विद्यालय मानेर इञ्जिनियरिङ् विधामा आधारित खेलमैत्री शिक्षण सिकाइ थालनी गरिनेछ । छनौटमा भएका विद्यालयहरुलाई रोवोटिक्स किट उपलब्ध गराइनेछ । शिक्षकहरुलाई रोवोटिक्सका विविध विषयमा जानकारी गराउन तथा ज्ञान आदान प्रदान गर्न डिजिटल प्लेटफर्म निर्माण गरिनेछ । यसमा गणित, इञ्जिनियरिङ् र टेक्नोलोजीका विषय अध्ययन हुनेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com