२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

विश्वकपको समूह चरणका खेलमा बनेका रोचक तथ्य

विश्वकपको समूह चरणका खेलमा बनेका रोचक तथ्य

१८ मंसिर, काठमाडौं । फिफा विश्वकपको समूह चरणको खेल यसअघि जस्तो रहेन । मध्यपूर्वी राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकप अनपेक्षित नजिताले भरिपूर्ण भयो ।

समूह चरणका खेलमै यसपल्ट महारथी भनिएका टिमहरुलाई कमजोर आँकिएका ‘अन्डर डक’ टिमहरुले पराजित गरे ।

३२ टोली सम्मिलित विश्वकपमा ८ समूह थियो र समूह चरणमा ४८ खेल सञ्चालन भएका थिए । ती ४८ खेलका क्रममा बनेका केही रोचक तथ्यहरु :

पाँच विश्वकपमा गोल गर्ने रोनाल्डो

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो लगातार पाँच विश्वकपमा गोल गर्ने एक्ला खेलाडी बने । उनले २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकपमा गोल गर्दै व्याक्तिगत रेकर्ड राखेका हुन् ।

घानाविरुद्ध ३–२ को जितमा सम्भव भएको पेनाल्टी गोल उनले लगातार पाँचौं विश्वकपमा गरेको गोल बन्यो । ३७ वर्ष २९२ दिनको उमेरमा उनले पोर्चुगलका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमानसमेत बनाए ।

उनी २००६ को विश्वकपमा पोर्चुगलका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी थिए । उनी २००६ मा पहिलो पटक गोल गर्दा २१ वर्ष १३२ दिनका थिए ।

गाभी

सन् २००४ मा जन्मिएका गाभीले यसपल्ट विश्वकपमा गोल गरे । १८ वर्षको उमेरमा उनले कोस्टरिकासँगको ७–० को फराकिलो जितमा गोल गरेका हुन् । यो स्पेनले फिफा विश्वकपमा गरेको सबैभन्दा ठूलो अन्तरको जित हो ।

गाभी विश्वकपमा गोल गर्ने स्पेनकै सबैभन्दा कान्छो खेलाडी बनेका छन् । विश्वकपमा गोल गर्ने कान्छो खेलाडी भने ब्राजिलका पेले हुन् । उनले १७ वर्ष २३९ दिनको उमेरमा सन् १९५८ मा स्वीडेनविरुद्ध गोल गरेका थिए ।

लियोनल मेसी

लियोनल मेसी अर्जेन्टिनाको लागि चार विश्वकपमा गोल गर्ने खेलाडी बने । उनले २००६, २०१४, २०१८ र २०२२ मा गोल गरेका हुन् । उनले यस संस्करणको पहिलो खेलमा साउदी अरेबीयासँग पेनाल्टीमार्फत गोल गरेका हुन् । उनले डिएगो म्यारडोना र ग्रबियल बाटिस्टुटाको रेकर्ड तोडेका हुन् ।
म्यारडोनाले १८२, १९८६ र १९९४ मा गोल गरेका थिए भने, बतिस्टुटाले १९९४, १९९८ र २००२ मा गोल गरेका थिए । यो उनको अर्जेन्टिनाका लागि ९२औं गोल थियो । मेस्सी सन् २००६ यता सबै विश्वकपमा असिस्ट गर्ने खेलाडी पनि हुन् ।

ओलिभर जिरोड

३६ वर्षीय फ्रान्सेली फरवार्ड जिरोडले अष्ट्रेलियाविरुद्ध ४–१ को जितमा २ गोल गर्दै फ्रान्सका लागि सर्वाधिक गोलकर्ता थिएरी हेनरीसँग बराबरी गरेका छन् । जिरोडे फ्रान्सका लागि ५१औं गोल गरेका हुन् ।

साउदी अरेबियाद्वारा अर्जेन्टिना पराजित

यसपल्टको विश्वकपमा भएको रोचक खेलमध्ये एक थियो साउदी अरेबिया र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा । समूह चरणको आफ्नो पहिलो खेलमै साउदीले अर्जेन्टिनालाई २–१ ले हरायो ।

फिफा वरीयतामा ५३ औं स्थानमा रहेको साउदी अरेबियाले फिफा वरीयताको तेस्रो स्थानमा रहेको अर्जेन्टिनालाई पराजित गर्‍यो ।

फरक देशबाट दुई दाजुभाइको विश्वकप खेल

घानाका इनाकी विलियम्स र स्पेनका निको विलियम्सले सहोदर दाजुभाइ हुनुका बाबजुद फरक राष्ट्रबाट विश्वकप खेले ।

विश्वकपको इतिहासमा यो अनौठो संयोग हो । यी दुई दाजुभाइले नोभेम्बर २४ मा फरक राष्ट्रबाट खेले ।

कतार

कतार पहिलो आयोजक राष्ट्र हो, जसले समुह चरणको सबै खेल हार्‍यो । कतारले पहिलो खेल इक्वेडरसँग २–०, सेनेगलसँग ३–१ र नेदरल्यान्ड्ससँग २–० को हार बेहोरेको हो । यो विश्वकपमा समूहका सबै खेल हार्ने कतार र क्यानडा मात्र हो ।

वेन हेनसी

वेल्सका गोलरक्षक वेन हेनसी कतार विश्वकपमा पहिलो रातो कार्ड खाने खेलाडी बने । उनले इरानसँगको सिधा रातो कार्ड बेहोरेका हुन् । फिफा विश्वकपको इतिहासमा रातो कार्ड खाने उनी तेस्रो गोलरक्षक हुन् ।

इनर भ्यालेन्सिया

इक्वेडरका ३३ वर्षीय खेलाडी इनर भ्यालेन्सिया इक्वेडरका लागि विश्वकपमा ६ गोल गर्ने खेलाडी बनेका छन् । नेदरल्यान्ड्सँगको गोल उनले इक्वेडरका लागि गरेको छैटौं गोल हो ।

अन्य कुनै इक्वेडर खेलाडीले खेलको सामान्य मिनेटमा ६ गोल गरेका छैनन् । भालेन्सियाले २०१४ मा समुह चरणको खेलमा ३ गोल गरेका थिए ।

लेवोन्डोस्कीको विश्वकपमा पहिलो गोल

दुईपल्टका फिफा वर्ष खेलाडी रोर्बट लेवोन्डोस्कीले कतारमा जारी विश्वकपमा पहिलो गोल गरे । उनले साउदी अरेबियालाई २–० ले पराजित गर्दा आफ्नो पहिलो विश्वकप गोल गरे ।

बार्सिलोना स्ट्राइकर ३४ वर्षीय लेवोन्डोस्की विश्वकपमा पहिलो गोल गरेपछि भावुक भए । उनले पाँच विश्वकप खेले पनि एक पटक पनि गोल गर्न सकेका थिएनन् । लेवोन्डोस्कीले करिअरको ६०० गोल पूरा गरे । उनले पेलको ७७ अन्तर्राष्ट्रिय गोल रेकर्डसँग बराबरीसमेत गरे ।

२०२२ विश्वकपमा सबैभन्दा छिटो गोल

क्यानडियन डिफेन्डर अलफोन्सो डेभिसले २०२२ विश्वकपमा आफ्नो पहिलो विश्वकप गोल गरे । उनले खेलको दोस्रो मिनेटमा गोल गरेका हुन् । विश्वकपमा समूह चरणको खेलमा सबैभन्दा छिटो गरिएको गोल हो ।

कुनै पनि टिमले समूह चरणमा शतप्रतिशत जित निकाल्न सकेनन्

यो पहिलो विश्वकप संस्करण हो, जसमा कुनै पनि टिमले, समुह चरणमा शतप्रतिशत जित निकाल्न सकेनन् । विश्वकपका ३२ राष्ट्रमध्ये सबै समूह चरणमा कम्तिमा एकपल्ट पराजित भए । समूह चरणको तीन खेलमा तीनै खेल जित्ने एक टिम पनि रहेनन् ।

अफ्रिकाको खुसी

मोरक्को पहिलो अफ्रिकन टिम हो, जसले समूह चरण पार गर्‍यो । अन्तिम १६ मा मोरक्कोले स्पेनसँग खेल्नेछ ।

वैकल्पिक खेलाडीको गोल

यस विश्वकपको ४८ खेलमा खेलमा २३ गोल वैकल्पिक खेलाडीले गरेका छन् ।

यस विश्वकपमा सबैभन्दा रोचक वैकल्पिक खेलाडीको गोलमा, दक्षिण कोरियाका वैकल्पिक खेलाडी हि–छङ ह्वाङले ९१ औं मिनेटमा गरेको गोल पनि पर्छ ।

उनको गोलले दक्षिण कोरियाले पोर्चुगलविरुद्ध २–१ को जितसहित अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com