२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

ऋण नतिर्ने सदस्यलाई कालो सूचीमा राख्न सहकारी महासंघको माग

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय सहकारी महासंघले ऋण लिएर नतिर्ने सदस्यलाई कालोसूचीमा राख्ने व्यवस्था गर्न विभागसँग माग गरेको छ । शुक्रबार महासंघसहितको विषयगत केन्द्रीय संघका प्रतिनिधि तथा सहकारी अभियन्ताहरुले सो माग राख्दै विभागका रजिस्ट्रार रुद्रप्रसाद  पण्डितलाई भेटी ५ बुँदे सुझावपत्र बुझाएका हुन् ।

मुख्यतः अहिलेको असहज परिस्थिति आउनुमा सहकारीले सदस्यहरूमा लगानी गरेको कर्जा नउठ्नु र नयाँ बचत नआउनु नै रहेको महासंघको निष्कर्ष छ । यसका लागि पनि कर्जा लगानी असुलीलाई विशेष प्राथमिकता दिनुपर्ने महासंघको भनाइ छ ।

सहकारीको विग्रँदो साखलाई पुनर्जीवित पार्न पनि कर्जा असुलीलाई प्राथमिकता दिनुपर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका महासंघका सञ्चालक केबी उप्रेतीले बताए । ‘अहिलेको सहकारीको मुख्य समस्याको जड भनेको नै कर्जा लगानी र असुलीको हो । यसलाई कडाईका साथ नियन्त्रण गर्ने हो भने सहकारीको ८० प्रतिशत समस्या समाधान हुन्छ’ उप्रेतीले भने– ‘हामीले त्यसको थालनी गरिसकेका छौं । पहिलो चरणमा सञ्चालक ऋणीबाटै असुलीको अभियान थाल्छौ र क्रमशः साना सदस्य ऋणीमा जान्छौं । तर यसका लागि विभागले सकारात्मक भूमिका खेलिदिनुपर्यो भन्ने हाम्रो माग हो’ उनले भने ।

खासगरी सहकारी सदस्य ऋणीहरूलाई पनि बैंक तथा वित्तीय संस्थाहरूले जस्तै कालोसूचीमा नाम निकाल्ने व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।  यसो गर्दा ऋणीहरूमा केही हदसम्म भने पनि त्रास हुने र सहकारीको लगानी फिर्ता हुने बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौडेलको भनाइ छ ।

अहिलेको समस्याबाट सहकारीलाई बचाउन महासंघले विभागलाई ५ बुँदे सुझाव दिएको छ ।
यस्ता छन् सुझावहरू
१. बजारअनुरुप सहकारी ब्याजदरलाई स्वचालित बनाउनुपर्ने
२. सम्पत्ति रोक्का, कालोसूचीमा समावेश लगायतका व्यवस्थामार्फत सहकारीको खराब कर्जा असुलीको व्यवस्था गर्ने
३. सरकारका विभिन्न कोषमा रहेका पैसा सहकारी बैँकमार्फत बजारमा प्रवाह गर्ने
४.ऐनमा भएको व्यवस्था बमोजिम कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन हुनुपर्ने र
५. सहकारी क्षेत्रको विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने रहेका छन् ।

प्रतिउत्तरमा विभागका रजिस्ट्रार पण्डितले ज्ञापनपत्र बुझ्दै सहकारी क्षेत्रको समस्या निराकरणका गर्दै सबलीकरण गर्न आफू अभियानसँगै लाग्ने बताए । सकारात्मक उर्जाका लागि अहिले नै लाग्न रजिष्ट्रार पण्डितले सबै अभियन्ताहरुलाई आग्रह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com