२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

छड्केमा गएका मन्त्री श्रेष्ठसँग सेवाग्राहीको गुनासो–सरकारी काम पट्यारलाग्दो भयो

छड्केमा गएका मन्त्री श्रेष्ठसँग सेवाग्राहीको गुनासो–सरकारी काम पट्यारलाग्दो भयो

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । अचानक यातायात कार्यालयहरूको अनुगमनमा पुगेका उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग सेवाग्राहीले गुनासोको चाङ तेर्स्याएका छन् । मंगलबार दलबलसहित अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले अनुगमनका क्रममा सेवाग्राहीसँग प्रतिक्रिया लिएका थिए । त्यस क्रममा सेवाग्राहीले यातायातसम्बन्धी काममा धेरै ढिलाइ हुने र झन्झटिलो हुने गरेको गुनासो गरेका हुन् ।

मन्त्री श्रेष्ठसँग मन्त्रालयका सचिव, प्रदेश यातायात मन्त्री र प्रदेशका यातायात सचिवसहित यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोली थियो । अचानक यातायात कार्यालयहरूको अनुगमनमा निस्किएका मन्त्री श्रेष्ठले तीन वटा कार्यालयहरूको अनुगमन गरेका छन् । पहिला एकान्तकुना पुगेका मन्त्री श्रेष्ठले त्यहाँ उपस्थित सेवाग्राहीसँग प्रतिक्रिया लिएका थिए । मन्त्री श्रेष्ठको सेवा कस्तो छ भन्ने प्रश्नमा सेवाग्राहीहरूले भने, ‘झन्झटिलो र ढिलासुस्तीले धेरै सास्ती भइरहेको छ ।’

त्यसपछि, ठुलोभर्याङ र गुर्जुधारामा समेत पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीसँग सरकारी कार्यालयले दिइरहेको सेवाका बारेमा बुझ्दा एकदमै धेरै झन्झटिलो र पट्यारलाग्दो रहेको जवाफ पाए । त्यस क्रममा मन्त्री श्रेष्ठले सम्बन्धित कार्यालयका प्रमुखसहित शाखा प्रमुखलाई राखेर सेवाग्राहीलाई दिइने सेवामा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए । मन्त्री श्रेष्ठले भने, ‘तपाईँहरूलाई थप जनशक्ति चाहिन्छ भने मन्त्रालय उपलब्ध गराउन तयार छ । तर, सेवाग्राहीलाई समयमै सहज तरिकाले सेवा दिनुपर्छ ।’

यस्तै, मन्त्री श्रेष्ठले कर्मचारीहरूलाई उच्च मनोबलका साथ सेवाग्राहीलाई सेवा प्रदान गर्न समेत निर्देशन दिए । आज पहिलो चरणको अनुगमनका क्रममा मन्त्री श्रेष्ठको टोलीले यातायात कार्यालयहरूको ४ वटा फाँटको अनुगमन गरेको छ । टोलीले सवारी चालक अनुमति पत्र इकाई, सवारी दर्ता, ट्रायल सेन्टर र सवारी पास फाँटमा अनुगमन गरेको हो । त्यस क्रममा सबै फाँटमा सरकारी काम थप झन्झटिलो बनिरहेको निष्कर्षसहित टोली मन्त्रालय फर्किएको छ ।

यसबाहेक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल उत्रिन गरेपछि सरकारी कार्यालयमा इन्ट्री गर्नै एक साताको अवधि लाग्ने गरेको छ । यसलाई समेत सके त्यही दिन र नसके एक दिन भित्रमा नाम इन्ट्री गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । यसैगरी, यातायात कार्यालयहरूलाई छिटोभन्दा छिटो डिजिटल बनाउनका लागि पहल गर्ने र यसका लागि प्रदेश सरकारसँग मिलेर अघि बढ्ने श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com