२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

रास्वपाको तनावपूर्ण बैठक : सरकारबाट बाहिरिने विषयमा दुई धार, मिडियामा सोचेर बोल्न निर्देशन

काठमाडौं– सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सरकारबाट बाहिरिने/बस्‍ने विषयमा दुई धार देखिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा दुई धार देखिएको हो ।

बैठकको सुरुमै पार्टी सभापति रवि लामिछानेले अन्य बैठकमा जस्तो समयसीमा नभएकाले सबैलाई खुलेर आ-आफ्नो विचार राख्न अनुरोध गरे । त्यसपछि उनले एक सातायता पार्टीमा विकसित राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गरे ।

करिब चार घण्टा चलेको बैठकमा अधिकांश सदस्यले सरकारबाट अहिले नै बाहिरिन नहुने मत राखे । अहिले नै सरकारबाट बाहिरिँदा नकारात्मक सन्देश जाने उनीहरूको तर्क थियो । बाँकी सदस्यले भने प्रधानमन्त्री प्रचण्ड पुस १० गतेको सम्झौताविपरीत जान खोजिरहेकाले समर्थन फिर्ता लिनुपर्ने धारणा राखे ।

‘केन्द्रीय समिति र संसदीय दुवै गरी हामी त्यस्तै ३६ जना थियौँ । तीमध्ये सबैजसोले यति छिट्टै समर्थन फिर्ता लिँदा बाहिर नराम्रो म्याजेस जाने धारणा राख्नुभयो,’ बैठकमा सहभागी एक नेताले बताए, ‘पद नपाएरै समर्थन फिर्ता लिएको भन्ने अर्थ जाने हुँदा अधिकांशले सरबारबाट तत्कालै सरकारबाट बाहिरिन नहुने मत राख्नुभयो ।’

उनले अगाडि भने, ‘केहीले भने प्रधानमन्त्री प्रचण्ड आफ्नो बोलीमा अडिक नहुने व्यक्ति भएकाले सरकारबाट बाहिरिनुपर्ने भन्ने धारणा राख्नुभयो ।’

बैठकमा योसँगै पार्टी फुटलगायत मिडियामा बोल्दा ध्यान दिनुपर्ने विषयमा पनि चर्चा भयो । काठमाडौं–२ बाट निर्वाचित सांसद सोविता गौतमले पार्टी फुटबारे बाहिर चर्चा सुनिइरहेको बताउँदै यसमा कति सत्यता छ भनेर प्रश्न गरेकी थिइन् ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले मिडियामा कसले, कसरी, के बोलिरहेको छ भन्ने आफूले सुक्ष्म रूपमा हेरिरहेको बताए । अहिले सम्पूर्ण मिडियाहरूले पार्टीको खेँदो खनिरहेको भन्दै त्यसको विरोध गरे । उनले घुमाउरो ढंगबाट मिडियामा सोचेर बोल्न सबैलाई निर्देशन दिए । उनको समर्थन गर्दै एक नेतृले भनिन्, ‘मिडियाले हामीलाई प्ले गरिरहेको छ । हामी धेरै हिरो भएर मिडियासँग बोल्यौँ भने त्यसलाई हामीलाई नै घाटा गर्छ । यो कुरा बिर्सिनु हुँदैन ।’

अधिकांश सदस्यले ढकाललाई साथ दिँदा केन्द्रीय समिति सदस्य गणेश कार्कीलगायत केहीले भने त्यसको विरोध गरे । ‘निर्वाचनका बेला हामीलाई मिडियाले धेरै सहयोग गरेको बिर्सिन मिल्दैन । आज सत्तामा पुग्दा मिडियामा आफ्नो विचार नराख्ने भन्ने नै हुँदैन,’ कार्कीको भनाइ उद्घृत गर्दै ती नेताले भने । ‘अहिले मिडियाले हामीलाई प्ले गर्‍यो, इस्यु बनायो भन्न मिल्दैन,’ कार्कीले भने ।

बैठक तनावपूर्ण बनेको थियो । बैठकमा सबैजसो सदस्यले भडास पोखेको ती नेता बताउँछन् । ‘बैठक नियमित हुनुपर्‍यो, नियमित नभएकै कारण कम्युनिकेसन ग्याप देखियो भन्ने कोणबाट पनि छलफल भयो ।’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालयको विषयमा टुंगो लगाउन दुई दिनको समय मागेका छन् । सरकारमा रहने वा नरहने भनेर शनिबार बेलुका मात्र ‘फाइनल’ हुने ती नेता बताउँछन् ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता ढकाल आफूहरू दुई दिन पर्खिन तयार रहेको बताए । उनले गृहमन्त्री रास्वपाको भागमा परेकाले आफूहरूले नै पाउनुपर्ने र नपाएको खण्डमा जुनसुकै निर्णय पनि गर्ने चेतावनी दिए । बिहीबारको बैठकमा पनि उनले यही कुरामा जोड दिएका थिए ।

लामिछाने सकेसम्म आफैँ गृहमन्त्री बन्ने दौडमा छन् । त्यसका लागि उनले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग पटकपटक भेटेर संवाद गरेका छन् ।

ओली लामिछानेको पक्षमा छन् भने प्रचण्ड गृहमन्त्रालय आफैँसँग राख्ने ‘मुड’मा छन् । गृहमन्त्रालयकै कारण गठबन्धन फुट्न सक्ने अनुमान पनि यतिबेला भइरहेको छ ।

तर, पार्टीले कसलाई गृहमन्त्री बनाउने भनेर छलफल गरिनसकेको प्रवक्ता ढकालको भनाइ छ । ‘हामी कसलाई पठाउने वा के गर्दा राम्रो हुन्छ भन्ने कुराको हिसाबकिताब गर्दै छौँ । सभापति लामिछानेलाई पठाउँदा वा नपठाउँदा देश र पार्टीका लागि के हुन्छ भनेर हामी हिसाबकिताब गरिरहेका छौँ । घरी उहाँलाई पठाउनुपर्छ भन्ने लाग्छ घरी हुँदैन भन्ने लाग्छ । हामी यो अवस्थालाई एकदमै सोचविचार गरेर नियालिरहेका छौँ,’ केही दिनअघि इकाजगसँग उनले भनेका थिए ।

‘तर, प्रधानमन्त्रीबाट एउटा निष्कर्ष नआइसकेकाले यो विषयमा हामीले दिमाग खियाएका छौनौँ । उहाँले एकजनाको नाम पठाउनु भनेर भनिसकेपछि यस विषयमा मज्जाले दिमाग खियाउँछौँ ।’

नागरिकता प्रकरणमा लामिछाने दोषी देखिएपछि उनका गृहमन्त्रालयदेखि सांसद पद खोसिएको थियो । उनले आइतबार खारेज भएको नागरिकको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर नयाँ नागरिकता लिएका छन् । नागरिकता लिएसँग उनी फेरि गृहमन्त्री हुने दौडमा छन् ।

सबै तस्बिर : राष्ट्रिय स्वतन्त्र पार्टी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com