२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

प्रतिलिटर १४ रुपैयाँ बढाइँदै दूधको मूल्य

प्रतिलिटर १४ रुपैयाँ बढाइँदै दूधको मूल्य

मकवानपुर । मकवानपुर दुग्ध उत्पादक संघले किसानलाई प्रतिलिटर कम्तीमा १४ रुपैयाँका दरले दूधको मूल्य बढाउने तयारी गरेको छ ।
११ हजार दुग्ध उत्पादक किसान आबद्ध रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरले किसानलाई दूधको मूल्य बढाउने भएको हो । दूधको लागत मूल्य अनुसार हाल प्रतिलिटर ३ रुपैयाँ पनि बचत नभएको भन्दै संघले कृषकका लागि आगामी १ गतेबाट दूधको मूल्य बढाउने भएको हो ।

संघले लामो समयदेखि सरकारलाई दूधको मूल्य बढाउन दबाब दिँदै आएको तर, सरकारले सुनुवाइ नगरेपछि आफैँले मूल्य निर्धारण गरेर अघि बढ्न लागेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेलले बताए । प्रतिलिटर कम्तीमा १४ रुपैयाँ मूल्य बढाउन सरकारसँग संघले माग गर्दै आएको छ ।

आगामी १ गतेबाट हामी हाम्रा किसानलाई हामीले निर्धारण गरे अनुसारको मूल्य दिन्छौँ, हामीबाट दूध किन्ने डेरी उद्योगहरूलाई पनि सोही दर कायम गर्छौं, उहाँहरू राजी भए दूध लैजानु हुन्छ, अन्यथा हामी हाम्रो उत्पादन आफैं व्यवस्थापन गर्छौं,ु अध्यक्ष कंडेलले भने ।

संघले आज एक विज्ञप्ति जारी गर्दै अहिले उठाएको मागबारे सरकारको ध्यानाकर्षण नभएमा आन्दोलनमा उत्रने धम्की दिएको छ ।

मकवानपुरको संघ अन्तर्गत रहेका ६० वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाद्वारा दैनिक हाल ११ हजार परिवारको दूध संकलन हुँदै आएको छ ।

औपचारिक क्षेत्रमा करिव दैनिक ४० हजार लिटर दूध संकलन हुन्छ र दूधबाटै २७ लाखको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ जान्छ ।
किसानहरूलाई दूधमा आत्मनिर्भर बनाई विदेशमा समेत निर्यात गर्न सक्ने अवस्था रहेकोमा हाल दूधबाट बनेको दुग्धजन्य पदार्थ छुर्पी समेत बाह्य मुलुकमा निर्यात भइरहेकोमा हाल कच्चा दूधको मूल्य बृद्धि नहुँदा समस्या भएको कंडेलले बताए । पशुलाई खुवाउने पराल, दाना चोकर, औषधिलगायतको मूल्य अत्याधिक वृद्धि हुँदा समस्या बढेको उनले बताए ।

कृषकहरूले उद्योगबाट समयमा भुक्तानी नपाउनुको कारणले गर्दा फ्लस सिजनमा पनि दूध उत्पादनमा ह्रास आइरहेको उनले बताए ।

व्यवस्थित एवम् सक्षम समाजको स्थापना पशुपालनमा व्यापक सहकारिता ल्याउने हाम्रो मुख्य चाहना भन्ने नाराका साथ किसान हितमा आफूहरू लागेको संघका व्यवस्थापक कुमारमणी दाहालले बताए ।

हाल दूधमा सरकारले तोकेको समर्थन मूल्य ५६ दशमलव ४ रुपैयाँ हो । यो दरमा किसानले सहकारी संस्थामा दूध बेच्दा औषत ६० रुपैयाँ प्रतिलिटर पाइरहेका छन् । यो मूल्यमा १४ वा १५ रुपैयाँ वृद्धि गर्नुपर्ने माग संघको रहेको व्यवस्थापक दाहालले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com