२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रचण्डको चाहनामा को बन्दैछ तेस्रो राष्ट्रपति ?

काठमाडौँ – तेस्रो राष्ट्रपति चयनका विषयमा नेपाली राजनीतिमा रोचक खेल सुरु भएको छ । दलीय वा गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने विषयबाट सुरु भएको खेल अहिले कांग्रेस वा एमालेबाट भन्दा पनि प्रधानमन्त्री प्रचण्डको चाहनामा कसलाई राष्ट्रपति बनाउने भन्ने खेल चलेको हो ।

पछिल्लो समय राष्ट्रपति चयनको विषयलाई सत्ता गठबन्धन फेरिने सम्भावना प्रवल छ । कांग्रेस राष्ट्रपतिको चुनावलाई लिएर सत्तामा उक्लिने अवसर खोजिरहेको छ भने एमाले कसलाई राष्ट्रपति बनाउँदा आफ्नो सत्ता सुरक्षित रहन्छ भन्ने अन्योलमा छ ।

माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने र त्यसको सम्पूर्ण जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई दिने निर्णय गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमा अलमल बढेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवा झन् दबावमा आएका छन् ।

माओवादी सभामुखमा एमालेलाई सहयोग गर्दा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णयमा पुगिसकेको छ । तर उम्मेदवार कसलाई बनाउने र प्रचण्डले कसलाई समर्थन गर्ने भन्नेमा खेल चलिरहेको छ ।

प्रचण्डकै चाहनाबमोजिम पछिल्लो समय राष्ट्रपतिमा माधव नेपाल र रामचन्द्र पौडेलको नाम चर्चामा छ । प्रचण्डकै चाहनामा ओलीलाई थप साइजमा राख्न माधव नेपाल राष्ट्रपति बन्न तयार देखिएका छन् । तर देउवा कांग्रेसले राष्ट्रपति पाउँदा पौडेललाई शीतलनिवासमा राख्न चाहन्छन् ।

माधव नेपाल प्रचण्डले पनि चाहेको नाम हो । तर ओलीले आश्चर्यजनक रुपमा माधवलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने सम्भावना बढेको देखिएको छ । यद्यपि प्रचण्ड त्यसमा पुरै विश्वस्त छैनन् ।

एमालेलाई सत्ताबाट बाहिर पठाउनका लागि अहिले प्रचण्डको दिमागमा राष्ट्रपतिको खेल चलिरहेको हो । जसमा देउवाको पूर्ण साथ सहयोग छ भने माधव नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आशावादी छन् ।

प्रचण्डकै मन जित्नका लागि ओलीले माधव नेपालको नाममा समर्थन जनाउन सक्ने सम्भावना रहेको चर्चा राजनीति वृत्तमा छ । तर त्यसका लागि माधव नेपालभन्दा बाबुराम भट्टराई सही विकल्प हुन सक्ने सामाजिक सञ्जालको विश्लेषण छ ।

कांग्रेसलाई सत्तामा आउन नदिनका लागि ओलीले सुवास नेम्वाङ, इश्वर पोखरेल, माधव नेपाललाई भन्दा बाबुरामलाई अगाडि सारेर प्रचण्डलाई अफ्ठेरो पार्ने रणनीति बनाएका छन् ।

माओवादीबाटै राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा कांग्रेसलाई थप पाँच वर्ष रोक्न सकिन्छ भन्ने एमालेको बुझाई छ । माओवादीकै राष्ट्रपति बन्दा प्रचण्ड पनि खुशी हुने र केन्द्र तथा प्रदेशमा सत्ता पनि सुरक्षित हुने देखेर ओलीले ‘बाबुराम कार्ड’ खेल्न सक्ने विश्लेषण छ ।

तर पुरानै गठबन्धन ब्युँताउनका लागि र एमालेलाई राम्रै जवाफ दिएर सत्ता बाहिर पठाएर कांग्रेस भित्र्याउनका लागि प्रचण्ड माधव नेपालको नाममा बढी सकारात्मक देखिएका छन् ।

जसको लागि आइतबार र सोमबारका कार्यक्रममा प्रचण्ड दिल्लीमा भएको १२ बुँदे समझदारी पटक–पटक उच्चारण गरिरहेका थिए । सोमबार पार्टीको महत्वपूर्ण बैठकअघि पनि प्रचण्डले माधव नेपाललाई भेटेरै राष्ट्रपतिका लागि तयार रहन बताएको चर्चा छ ।

कांग्रेसलाई सत्तामा ल्याउने तर साइजमा राख्ने प्रचण्डको योजना तयार छ । अनि एमालेलाई दुई वर्षअघिको संसद् विघटन कदम अझै बिर्सिनसकेको र आफूमाथिको अपमानको जवाफ अपमानबाटै दिनका लागि प्रचण्ड माधव नेपाललाई शीतलनिवासको चाबी सुम्पिन तम्सिएका छन् ।

यसले ठूलो दल भएर पदका लागि घमण्ड गर्ने र सत्ता स्वार्थमै रमाउने कांग्रेस र एमालेलाई एकैपटक ‘साइज’मा राख्न सकिने मनशाय प्रचण्डको छ । यद्यपि कांग्रेसले यसमा आफ्नो भविष्य नदेख्ने आशंका कायमै छ ।

सत्ताका लागि तयार देखिएको कांग्रेस राष्ट्रपतिविना प्रचण्डको प्रस्ताव मान्छ भन्नेमा विश्वस्त हुने ठाउँ देखिदैन । एमालेको चाहना पनि त्यही हो । जुन खेल खेल्न सजिलो ठानिएपनि कांग्रेस र एमालेविना प्रचण्डको प्रधानमन्त्री र सत्ताको कुर्सी सुरक्षित छैन ।

यसकारण तत्काललाई वाम नेताहरुभन्दा प्रजातान्त्रिक नेता नै नेपालको तेस्रो राष्ट्रपति बन्ने सम्भावना बलियो छ । त्यसका लागि रामचन्द्र पौडेलले बाजी मार्छन् वा अर्को कुनै नेता वा व्यक्तिको इन्ट्री हुन्छ, त्यो हेर्न बाँकी छ ।

तर दुई कार्यकाल एमालेबाटै राष्ट्रपति भएकी विद्यादेवी भण्डारीको गतिविधि नजिकबाट नियालेका नेता र आम जनता पनि दलीय राष्ट्रपतिमा बेला बेला संवैधानिक दायित्व छाडेर कार्यकारी बन्ने भूत सवार भएको हेर्न चाहिरहेका छैनन् । जसलाई प्रचण्डले अहिले मुख्य राष्ट्रपति खेल बनाइरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com