२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

गृहमन्त्रीसँग संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलको भेट

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको जानकारी दिए ।

सो सम्बन्धमा संयुक्त राष्ट्रसंघबाट भएको समन्वय तथा सहकार्यका लागि धन्यवाद दिँदै उनले दिगो विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपालको आफ्नै मौलिक चुनौतीहरू रहेको र उक्त चुनौतीलाई सम्बोधन गर्दै स्तरोन्नति हासिल गर्नका लागि नेपालले आवश्यक तयारी गरिरहेको पनि जानकारी दिए ।

भेटमा राष्ट्रसंघीय प्रतनिधिमण्डलबाट संरचनात्मक रुपान्तरण जरुरी हुने भएकाले नेपालले कृषि, नवीकरणीय ऊर्जाको निर्यातमा विविधिकरण, दिगो पर्यटन, व्यापार सहजीकरण र दिगो लगानीमा जोड दिनुपर्ने तथा विपद् व्यवस्थापनका लागि मातहतका निकायहरूलाई उचित माग निर्देशन गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल विपद्को सम्बन्धमा जोखिमयुक्त मुलुक रहेकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संवेदनशील रहेको जानकारी गराए । विपद्लाई समग्र रूपमा बुझी सोहीअनुरुप व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइसकेको उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसंघजस्तो बहुपक्षीय सङ्गठनको सकारात्मक सहयोगबाट मात्र शान्ति, सुरक्षा, दिगो विकास र समन्यायिक सामाजिक रुपान्तरण हासिल गर्न सकिने श्रेष्ठले उल्लेख गरेका थिए । सो अवसरमा आपसी सम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिएको थियो । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com