२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

चितवन, तनहुँ र बाराका तीन क्षेत्रमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभाका तीनवटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ ।​ बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन आज उपनिर्वाचन हुन लागेको हो ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ । निर्वाचन आयोगले उपनिर्वाचनमा निधक्क भई मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ ।

गत संसदीय निर्वाचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतले फैसला गरेपछि उनको पद गएको थियो ।

यस्तै, तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र र बाराबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

आयोगलाई मत हाल्न जाँदा मोबाइल लैजानेदेखि आफूले हालेको मत संकेत अरुलाई देखाए कारबाही गर्ने भएको छ ।

उपनिर्वाचनलाई भयरहित तथा निष्पक्ष रुपमा निर्वाचन गराउन १० बुदेँ निर्देशन जारी गर्दै आयोगले नाम ढाँटी अर्काको नाममा मतदान गर्न आउनेलाई कारबाहीसमेत गर्ने जनाएको छ ।

निर्वाचन आयोगका अनुसार मतदानस्थलमा गर्न हुने तथा नहुने कार्यहरू यस्ता छनः
१. मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गर्ने ।

२. निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने÷गराउने ।

३. अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाउने ।

४. मतदान अधिकृतले दृष्टिबिहीन वा शारीरिकरूपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफै मत संकेत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्ने उपयुक्त व्यवस्था मिलाउने ।

५. दृष्टिबिहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मत संकेत गर्न सहयोग मागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने कार्यमा सहयोग गर्ने ।

६. बुँदा नं. ४ र ५ मा उल्लेख भएदेखि बाहेक कुनै मतदाताले कुनै कारण देखाई सहयोगीसहित मतदान कक्षमा जान चाहेमा पूर्णरुपमा निधेष गर्ने ।

७. कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने ।

८. निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिने र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई सुचारु गर्ने ।

९. मतदान केन्द्रमा मतदान प्रारम्भ भएको र प्रत्येक दुई घन्टामा मतदाताको कूल संख्या, खसेको मत, तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउने ।

१०. मतदान प्रारम्भ भई सम्पन्न नभएसम्म कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com