२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

अब इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा, नम्बर अंग्रेजीमा

अब इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा, नम्बर अंग्रेजीमा

काठमाडौँ- सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अंग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।
प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिए ।

जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ, उनले भने । इम्बोस्ड नम्बर आपूर्ति गर्न बङ्गलादेशको कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ । पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नेगरी विसं २०७३ मा सम्झौता भएको थियो ।

सरकारले इम्बोस्डमा राख्ने भाषा टुङ्गो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन । नम्बर प्लेटमा देवनागरी लिपि राख्नका लागि उनीहरूको सिस्टममा परिवर्तन गर्नुपर्ने रहेछ, इन्जिनियर थापाले भने, उनीहरूले त्यसका लागि तयारी गर्दैछ । अब छिट्टै सुरु हुन्छ । हामीले सोहीअनुसार तयारी गर्न भनेर सम्बन्धित ‘पार्टी’लाई निर्देशन दिएका छौँ ।
विविआइएन अन्तर्गतका बङ्गलादेश, भूटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरूको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अंग्रेजी भाषाको प्रयोग गरिएको उनको भनाइ थियो । भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अंग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले सुनाए ।

यही वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर नेपालीमा, नेपाली तथा अंग्रेजीमा र अंग्रेजीमा गरी तीनवटै विकल्पमा छपाइ गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय भइसकेको र केही समयमै लागू हुने जानकारी गराएका थिए ।

गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा छपाइ गर्न पाउने निर्णय गरेको थियो । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा इम्बोस्ड नम्बर देवनागरीमा छपाइ गर्ने विषयलाई अगाडि बढाइएको बताएका थिए ।

त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौँ । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौँ, उनले भनेका थिए ।

सरकारले अंग्रेजीमा इम्बोस्ड नम्बर छपाइ गर्न अनिवार्य गरेको भन्दै नेपाली भाषा बचाउ अभियन्ताले विरोध जनाउँदै आएका थिए । धेरै पटक सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुँदै आएको थियो । यसअघि इम्बोस्ड नम्बर अंग्रेजीमा छपाइ हुँदै आएको थियो ।

निर्देशनको पर्खाइमा विभाग

सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यससम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरू रहेको बताए ।

देवनागरी लिपिमा छाप्ने भन्ने भयो, तर कुन-कुन अक्षर र अङ्क देवनागरीमा छाप्ने भन्ने स्पष्ट भएको छैन, उनले भने, मन्त्रालयबाट निर्देशन आएपछि मात्रै काम सुरु हुन्छ ।

विभागले अहिले पुरानै व्यवस्थाअनुसार इम्बोस्ड छपाइ गरिरहेको छ । अंग्रेजीलाई अमान्य भनेको होइन, इम्बोस्ड नम्बरका लागि प्राप्त ‘अर्डर’ अनुसार प्लेट छपाइ भइरहेको छ, सूचना अधिकारी पनेरुले भने ।

हालसम्म करिब तीन लाख इम्बोस्ड नम्बर छपाइ भएको छ । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com