सिडेनको महासचिवमा पहिलो पटक महिला उम्मेदवार

काठमाडौँ- सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महासचिवमा मेली शाहले उम्मेदवारी दर्ता गराएकी छन् । यही जेठ १३ गते हुन लागेको सिडेनको सातौं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा शाहले महासचिवमा दावेदारी प्रस्तुत गरेकी हुन् । सिडेनको इतिहासमा महिला इञ्जिनियरले महासचिवमा उम्मेदवारी दिएको यो पहिलो पटक हो ।
पेशाले आर्किटेक्ट इञ्जिनियर शाह नेविसंघकी पूर्व केन्द्रीय सदस्य समेत हुन् । डोल्पा स्थायी घर भएकी शाह एनएसयू टेक फेस्टकी संस्थापक हुन् भने बिजनेश एण्ड प्रोफेसनल वुमनकी कार्यकारी सदस्य हुन् ।
सिडेन नेपाली कांग्रेस निकट इञ्जिनियरहरूको संस्था हो । ‘अहिले देशभरका अग्रज र साथीहरूको राम्रो प्रतिक्रिया पाइरहेको छु । उहाँहरूले म प्रति देखाएको विश्वास र भरोसा टुट्न दिने छैन,’ महासचिवको उम्मेदवार शाहले भनिन्, ‘७औं महाधिवेशनले सिडेनमा पहिलो पटक महिला महासचिव बनाएर इतिहास रच्नेमा म विश्वस्त छु ।’
नेपाल इञ्जिनियरिङ कलेजबाट अध्ययन पूरा गरेकी शाह शालिन र क्षमतावान् नेतृका रूपमा परिचित छिन् ।