२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

व्यक्ति बदलिए मात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छन् । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताए ।

‘कुशासन, बेथिति र भ्रष्टाचार अन्त्य गरी भविष्य दिने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ,’ उनले भने । पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उनले जोड दिए ।

महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशलाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गरे ।

‘कांग्रेसभित्रको गुट भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ,’ महामन्त्री थापाले भने । महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताए । कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उनको भनाइ थियो ।

उनले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए । कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्ता गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उनको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com