२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

देउवाले भने– म फेरि सभापति हुँदैन, सबै मिलेर अगाडि बढौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डीएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार चितवनमा सम्बोधन गर्दै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताए ।

आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए । उनले भने, ‘नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।’

नेकपा एमालेभित्र उमेरहद हटाइएको भन्दै देउवाले भने, ‘हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।’

पूर्वप्रधानमन्त्री देउवाले कानुन व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए । उनले भने, ‘रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानुन व्यवसायी हुन् ।’

प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डीएलएको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री  तथा कांग्रेस उपसभापति धनराज गुरुङले न्यायाधीश सिफारिस गर्ने क्रममा क्षमताको आधारमा गरिने बताए । उनले भने, ‘नेताहरूको आँगनमा देउसी, भैलो खेलेर न्यायाधीश बन्ने दिन गए ।’

क्षमता नभएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस नगर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘न्यायालयमा भएको भ्रष्टाचार शून्य गर्न म मन्त्री भएको हुँ । त्यो सफा गर्ने क्रममा ब्रिफकेस बोकेर धाउने न्यायाधीश बन्न सक्दैन । निष्पक्षरूपमा क्षमताका आधारमा न्यायाधीश छानिन्छ ।’

कांग्रेस महामन्त्री गगनकुमार थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठीक ठाउँमा उभिनु पर्ने बताए । उनले भने, ‘कांग्रेस ठीक ठाउँमा उभियो भने विधिको शासन र सर्वोच्चता रहन्छ नत्र रहँदैन ।’ अहिलेको समय पार्टीलाई पुनरसंरचना गर्ने समय भएको धारणा राख्दै उनले यसमा डीएलएको सहयोग आवश्यक रहेको बताए ।

पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि अहिलेको पद्धतिलाई भत्काउन आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘क्रियाशील सदस्यता वितरण र उम्मेदवार छनोट गर्ने अहिलेको पद्धतिको अन्त्य नभएसम्म पार्टीभित्र सुधार हुन नसक्ने देखिन्छ ।’

कार्यक्रममा केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई सुधार गरेर अघि बढ्ने बताए । उनले भने, ‘हामी कांग्रेसलाई कमजोर हुन दिँदैनौँ । सुधार गरेर अघि बढ्छौँ ।’ पार्टीलाई अझै सशक्त बनाएर अघि बढ्ने उनको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com