२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

माओवादी बैठक: १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आजदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् ।

पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेको माओवादीका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बैठकको प्रारम्भमा पार्टी अध्यक्ष दाहालले सङ्गठनात्मक संरचनालाई चुस्त दुरुस्त बनाउने, पार्टी पङ्क्तिलाई वडास्तरमा फर्काउने, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई चुस्त र व्यवस्थित तुल्याउने प्रस्ताव राखेका थिए ।

आजको बैठकमा अध्यक्षले राखेको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो । बैठकको प्रारम्भमा सम्बोधन गर्दै अध्यक्ष दाहालले बैठकको आवश्यकता, राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनका सन्दर्भमा धारणा राखेका थिए । सम्बोधनका क्रममा उहाँले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताए ।

“अहिले देशको राजनीति जुन विन्दुमा छ, जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे–जस्ता आशा र अपेक्षा गरेका छन्, पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रम, लिएका पहलकदमी र गरिएका गतिविधिबाट जनतामा नयाँ आशा पलाएको छ”, बैठकमा अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालको सम्बोधनपछि महासचिव देवप्रसाद गुरुङले बैठक कार्यसूचीमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले बैठकको ‘एजेण्डा’ प्रस्तुत गरे । महासचिवले पेस गरेको एजेण्डा पास भएसँगै बैठक औपचारिकरूपमा छलफलमा प्रवेश गरेको थियो ।

बैठकमा अध्यक्ष दाहालले विधान संशोधनको प्रस्ताव पेस गर्नुभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । अध्यक्षद्वारा विधान संशोधन प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । माओवादीले केन्द्रीय समिति समावेशी नभएको स्वीकार गर्र्दै विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेको छ ।

केन्द्रीय समितिमा समावेशी चरित्र देखाउन तथा केही वरिष्ठ नेतालाई सहभागी गराउन विधान संशोधन गर्नुपरेको उहाँले जानकारी दिनुभयो । प्रस्तावमा मौजुदा केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाउने उल्लेख छ । अहिले माओवादीको केन्द्रीय समिति तीन सय ८७ सदस्यीय छ ।

माओवादी केन्द्रले केन्द्रीय समितिमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नेगरी विधान संशोधन प्रस्ताव गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। माओवादीमा एक सय ९९ वैकल्पिक केन्द्रीय सदस्य छन् । वैकल्पिक केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाउँछन्।
बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको महासचिव गुरुङले जानकारी दिए ।

बैठकमा अध्यक्ष दाहालले पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहको तथ्याङ्क राख्नुभएको थियो । कोशीमा ९९ हजार छ सय एक, मधेसमा एक लाख १६ हजार नौ सय ७५, बागमतीमा एक लाख ४७ हजार तीन सय ५३, गण्डकीमा ६६ हजार छ सय ८७, लुम्बिनीमा एक लाख १२ हजार नौ सय १०, कर्णालीमा ८५ हजार सात सय ७४ र सुदूरपश्चिममा ७० हजार चार सय ८२, सम्पर्क कमिटी १९ हजार तीन सय १३, उपत्यकामा १८ हजार तीन सय २५ र प्रवासमा पाँच हजार पाँच सय ३७ पार्टी सदस्य रहेको अध्यक्ष दाहालको प्रस्तावमा उल्लेख छ ।

एक वर्षमा बस्यो केन्द्रीय समिति बैठक

माओवादीको केन्द्रीय समिति बैठक निकै लामो अन्तरालमा बसेको छ । यसअघि २०७९ असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको थिएन । बैठकमा अध्यक्ष दाहालले देशको राजनीतिक समीकरण र राजनीतिक उतारचढाव तथा पार्टीको आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब भएर बैठक बस्न ढिला भएको स्वीकार गरेका थिए ।

पार्टी अध्यक्ष दाहालको नेृत्वमा वर्तमान सरकार गठन भएपछि गत माघ २६ गते ‘भर्चुअल’रूपमा केन्द्रीय समितिको बैठक बसेको थियो । माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो । माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोध गरेपछि त्यसमा पुनःविचार गरेको थियो । बैठक भोलि बिहान ११ बजे पुनःबस्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com