२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

ललिता निवास प्रकरणमा सर्वोच्चको आदेशबारे गठबन्धनमा शीर्ष नेताहरूबीच छलफल जारी

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल जारी छ।

सोमबार अपराह्नमा प्रधानमन्त्री निवासमा शीर्ष नेताहरूबीच बालुवाटारको ललिता निवासबारे सर्वोच्च अदालतको आदेश लगायत विषयमा छलफल भइरहेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी छन्।

गत साउन २१ गते सर्वोच्च अदालतले ललिता निवास प्रकरणसम्बन्धी बन्दीप्रत्यक्षीकरणको रिटमा मन्त्रिपरिषद्को निर्णय, कार्यान्वयन तथा प्रस्तावमा प्रत्यक्ष संलग्नहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो।

न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले मन्त्रिपरिषद्का निर्णयकर्ताहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको हो। यो आदेशपछि केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुला गरेको हो।

यसरी अदालतको आदेशपछि युरोप भ्रमणमा रहेका माधव नेपाल सोमबारमात्रै नेपाल आइपुगेका हुन्।

अदालतको आदेशको अर्थ, सरकारको नीतिगत निर्णयमाथि अदालतले यस्तो आदेश दिन मिल्ने/नमिल्नेबारे छलफल जारी छ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएको विषयमा पनि छलफल जारी रहेको स्रोतले बतायो।

एमालेले साउन १० गतेदेखि विभिन्न कारणले संसद अवरोध गर्दै आएको छ। पछिल्लो समय सुन प्रकरणको उच्चस्तरीय छानबिन समितिको माग गर्दै समिति बनाउन माग गरेको हो।

योसँगै गौर हत्याकाण्डबारे सरकारले पीडित पक्षसँग गरेको सहमतिबारे पनि छलफल भइरहेको स्रोतले बतायो।

सरकारले यस विषयमा पीडित पक्षसँग साउन २६ गते ५ बुँदे सहमति गरेको थियो। जसपछि जनता समाजवादी पार्टी असन्तुष्ट देखिएको छ।

आजै गठबन्धनमा रहेको दल जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाएका छन्।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल पनि ९ किलो सुन तस्करी प्रकरणमा मुछिएको विषयमा उनीमाथि छानबिन हुनुपर्ने माग सत्तारूढ गठबन्धनकै सांसदहरूले राखिरहेका छन्।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा पक्राउ गरेपछि कांग्रेसका केही सांसदहरूले सरकारले आफ्ना नेताहरूलाई निशाना बनाएको बताएका थिए।

शीर्ष नेताहरूको बैठकमा यीलगायत विषयमा छलफल हुने बताइएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com