२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

लेखा अधिकृतसँग कार्यकक्षमै अमर्यादित कार्य गर्ने माइजोगमाईका प्रमुख प्रशासकीय अधिकृतको इन्टेग्रीटी अवार्ड रद्द

विराटनगर- इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले प्राप्त गरेको इन्टेग्रीटी आइकन नेपाल–२०१९ अवार्ड रद्द भएको छ ।

अकाउन्टविलिटी ल्याब नेपालले प्रदान गर्ने सो अवार्ड भ्रष्ट आचरण, अमर्यादित व्यवहार र गैह्रजिम्मेवारपूर्ण कार्यमा संलग्न नभएका कर्मचारीहरू मध्येबाट हरेक वर्ष मूल्याकंन गरेर प्रदान गर्दै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राई भने इलामकै चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएको बेलामा इन्टेग्रीटी आइकन नेपाल २०१९ बाट सम्मानित भएका थिए । तर, राई र सोही गाउँपालिकाकी लेखा अधिकृतबीच कार्यकक्षमै अमर्यादित गतिविधि गरेको दृष्य सामग्री सार्वजनिक भएको थियो ।

त्यसबारे जवाफ माग्दा प्रशासकीय अधिकृत राईले घटनाको जिम्मेवारी लिँदै सम्बन्धित संस्थाबाट हुने निर्णय मान्न तयार रहेको जानकारी गराएको भन्दै संस्थाको तर्फबाट प्रदान गरिएको अवार्ड फिर्ता लिने निर्णय गरिएको इन्टेग्रीटी ल्याबले बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

ल्याबले तत्कालीन समयमा प्राप्त भएका जानकारी, सूचना र इन्टेग्रीटी आइकन नेपालले तय गरेको मापदण्डको आधारमा उक्त अवार्ड प्रदान गरिएको स्पष्ट पारेको छ ।  ल्याबका सहायक निर्देशक सुरेश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रशासकीय अधिकृत राईलाई प्राकृतिक न्यायको सिद्धान्त अनुरूप घटनाबारे सत्यतथ्य खुलाई २४ घण्टाभित्र जवाफ माग गरिएकोमा उनले घटना स्वीकार गरेको उल्लेख छ ।

‘उहाँले नेपालको प्रशासनिक क्षेत्रमा आफ्नो असल आचरण र कुशल कार्यशैलीले अरुलाई पनि प्रेरित गर्नुहुनेछ भन्ने विश्वास थियो, तर समाचारहरूमा देखिएको अमर्यादित कार्यले हामीलाई स्तब्ध बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘इन्टेग्रीटी आइकन नेपाल निर्णायक समिति सदस्यहरूको सुझाव र इन्टेग्रीटी आइकन नेपालको निर्देशिकालाई आधार मानेर आयोजक संस्थाको निर्णय बमोजिम निज काजिमान राईलाई दिइएको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द गरिएको व्यहोरा सार्वजनिक रूपमा जानकारी गराउन चाहन्छौं ।’

विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत राईले कार्यक्षेत्रमा गरेको अमर्यादित व्यवहारप्रति खेद व्यक्त गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com