२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

इजरायल, प्यालेस्टाइन र हमास : यस्तो छ दशकौंदेखि जारी संघर्षको जड

२२ असोज, काठमाडौं । प्यालेस्टाइनस्थित हमास चरमपन्थीहरुले शनिबार बिहान इजरायलमा आश्चर्यजनक आक्रमण गरेसँगै इजरायलले समेत गाजापट्टीमा गरिरहेको प्रत्याक्रमणमा सयौँ जनाको ज्यान गइसकेको छ भने कैयन् घाइते बनेका छन् । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीहरुकेा समेत निधन भैसकेको छ ।

इजरायली बमवर्षक विमानले खसालेका बमले प्यालेस्टाइनी इलाकामा गगनचुम्बी भवनहरु समेत धुलिसाद भैरहेका भिडियोहरु अनलाइनमा छाइरहेका छन् । दुबैतर्फका मानिसहरुका रोदन तथा क्रन्दनका तस्वीरहरु भाइरल बनिरहेका छन् । यस्तोमा धेरैको मनमा जिज्ञासा उठ्नु स्वभाविकै हो कि एक्कासी त्यहाँ कसरी यस्तो भयानक युद्ध सुरु भयो ? आखिर हमासले इजरायलमाथि किन हमला सुरु गर्यो ?

हुनत इजरायल र प्यालेस्टाइनबीचको युद्ध कुनै नयाँ कुरा होइन । विगतको तथ्यांकले पनि के बताउँछ भने जब-जब हमास समूहले इजरायलमा आक्रमण गर्दछ तब इजरायली प्रत्याकक्रणमा उसले नै धेरै क्षति व्यहोर्नु पर्दछ ।

यो युद्धमा वास्तवमा इजरायल, प्यालेस्टाइन र हमास गरी प्रमुख रुपमा तीन पक्ष छन् । इजरायल तथा अरब देशहरुबीचको दुश्मनी पुरानै हो । सन् १९४८ मा जब इजरायल देशको स्थापना भयो त्यो बेलादेखि नै अरब देशहरुले इजरायललाई नरुचाएका हुन् । जसका कारण संयुक्त राष्ट्रसंघको दुई राज्य योजना कहिल्यै पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । ‘टु स्टेट प्लान’ अर्थात् दुई राज्य योजना संयुक्त राष्ट्रसंघले इजरायल तथा प्यालेस्टाइनबीचको विवाद समाप्त गर्नका लागि अघि सारेको हो । यसमा यहुदीहरुका लागि इजरायल र प्यालेस्टाइनीहरुका लागि प्यालेस्टाइन राज्यको प्रावधान राखिएको छ ।

बलियो बन्दै गयो इजरायल

इतिहास साक्षी छ कि जब-जब इजरायलमाथि हमला हुन्छ तब उसले त्यसको सशक्त जवाफ दिन्छ । इजरायलले आफूमाथिको आक्रमणको जवाफ मात्र दिएको छैन उसले आफूलाई मजबुत पनि बनाउँदै लगेको छ । चाहे १९६७ को ६ दिने युद्ध होस् वा सन् १९७३ को अरब-इजरायल युद्धमा नै किन नहोस्, हरेक युद्धमा इजरायलले भौगोलिक रुपमा आफ्नो आकार समेत बढाउँदै लग्यो र युद्धका कारण प्यालेस्टाइनको भूभाग खुम्चिँदै गएको छ ।

यसैबीच सन् १९९० को दशकको सुरु हुँदै गर्दा इजरायल र प्यालेस्टाइनबीच वार्ताको क्रम सुरु भयो । एकातर्फ वार्ताको माध्यमबाट विवादको समाधान गर्ने प्रयास गरियो भने अर्कोतर्फ मुस्लिम कट्टरपन्थीहरुले सन् १९८७ मा हमास नामक संगठनको स्थापना गरे । अंग्रेजी भाषामा हमासको अर्थ इस्लामिक प्रतिरोध आन्दोलन हो ।

हमासको उद्देश्य प्यालेस्टाइनलाई इजरायलबाट स्वतन्त्र गराउनु र त्यसलाई एउटा मुस्लिम देश बनाउनु थियो । प्यालेस्टाइनमा हमासले जरो गाडेको थियो भने अर्कोतर्फ वार्ताको माध्यमबाट इजरायल र प्यालेस्टानको सम्बन्ध भने सामान्यीकरण हुन थाल्यो । सन् १९९५ मा इजरायलले प्यालेस्टाइनीहरुलाई जमिन फिर्ता गर्न सुरु गर्‍यो ।

ओस्लो सम्झौताको माध्यमबाट शान्ति स्थापनाको प्रयास

ओस्लो सम्झौता अनुसार गाजा पट्टी र पश्चिम किनारालाई ३ प्रकारका क्षेत्रमा विभाजन गरियो । क्षेत्र ‘ए’ मा यस्ता ठाउँहरुलाई राखियो जहाँ प्यालेस्टाइनको पूर्ण नियन्त्रण थियो । त्यस्तै क्षेत्र ‘बी’ मा त्यस्ता क्षेत्रहरु परे जहाँ प्रशासन प्यालेस्टाइनको रहे पनि सुरक्षा भने इजरायलको हातमा थियो । अनि क्षेत्र ‘सी’ मा चाहिँ पूर्णरुपमा इजरायलको नियन्त्रणमा रहेका ठाउँहरुलाई राखियो ।

सन् १९९५ मा भएको ओस्लो-२ सम्झौता पछि पश्चिम किनाराका हेब्रो, यत्ता, बेतलहम, रमल्ला, कल्कइलियाह, तुलकार्म, जेनिन, नाबुलुस जस्ता सहरहरु प्यालेस्टाइनले प्राप्त गर्यो । त्यस्तै रफाह, खान युनुस, डायरल, अलबलह, जबलियाह, अन नजलाह जस्ता गाजा पट्टीका सहरहरु पनि इजरायलले प्यालेस्टाइनलाई दियो ।

उक्त सम्झौतापछि यस्तो लागेको थियो कि अब इजरायल र प्यालेस्टाइन बीचको विवाद समाप्त भयो र अब दुई देश शान्तिपूर्वक अघि बढ्नेछन् । तर दुबै पक्षका कट्टरपन्थीहरुलाई उक्त सम्झौता स्वीकार्य भएन ।

जब यहुदी र मुसलमानको पर्व एकैदिन पर्‍यो

सन् १९९४ मा संयोगबस यहुदीहरुको पर्व पुरिम र मुस्लिमहरुको पर्व रमदान एकै दिन पर्यो । त्यही दिन एकजना यहुदी कट्टरपन्थीले मुस्लिमहरुको भिडमा गोली चलाए । त्यसको बदलामा हमास कट्टरपन्थीहरुले आत्मघाती आक्रमणको माध्यमबाट विस्फोटन सुरु गरे ।

यद्यपि ती घटनाहरुपछि पनि ओस्लो सम्झौतामा छलफल जारी थियो । तर सन् १९९५ को नोभेम्बर ४ मा यहुदी कट्टरपन्थीले प्रधानमन्त्री यिजक रोबिनको हत्या गरेसँगै शान्ति प्रयासमा पूर्णविराम लाग्यो ।

सन् १९९६ मा बेन्यामिन नेतन्याहु पहिलोपटक इजरायलको प्रधानमन्त्री बने । उनले कडा रबैया अबलम्बन गरे, सुरक्षासँगै शान्तिको नारा दिए र ओस्लो सम्झौताको पालना गर्न अस्वीकार गरे ।

यता हमासले विस्तारै प्यालेस्टाइनको राजनीतिमा कब्जा जमायो । हमास चरमपन्थीहरुले मुस्लिम भ्रातृत्वको नाममा आर्थिक सहयोग संकलन गर्दछन् र त्यसको प्रयोग इजरायलका विरुद्धमा गर्दछन् ।

शताब्दीकै ठूलो आक्रमण

आत्मघाती आक्रमणबाट सुरु भएको हमासको आतंक यात्रा रकेट आक्रमणसम्म पुगेको छ । पछिल्ला दिनहरुमा हमास चरमपन्थीहरुले इजरायलमा आक्रमण गरिरहेका छन् ।

गत अक्टोबर ७ को दिन हमासले इजरायलमा गरेको रकेट आक्रमण एक्काइसौँ शताब्दीकै सबैभन्दा ठूलो आक्रमण हो ।

अलजजिरा टेलिभिजनको एक कार्यक्रममा हमासका प्रवक्ताले बताएका छन् कि इजरायलमाथिको यो आक्रमण मुस्लिम देशहरुलाई दिएको सन्देश हो कि उनीहरुले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने प्रयास छाडुन् ।

हमासको साथ दिंदै हेजबुल्ला

वास्तवमा पश्चिम किनारामा यस्ता कैयन् महत्वपूर्ण धार्मिक स्थलहरु छन् जहाँ यहुदी र मुस्लिमहरु दुबैले दाबी गर्दछन् । यस्ता अधिकांश क्षेत्रमा इजरायलको नियन्त्रण छ । हमास चाहिँ ती क्षेत्रहरु इजरायलबाट खोसेर इस्लामिक देश बनाउन चाहन्छ ।

धार्मिक मामिला भएका कारणले गर्दा हमासलाई समर्थन तथा लगानी पनि प्राप्त भैरहेको छ । धर्मको नाममा युवाहरुलाई उत्तेजित बनाउनु र इजरायलमाथि आतंकवादी आक्रमण गराउनमा हमासलाई हेजबुल्ला जस्ता संगठनहरुले पनि साथ दिइरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com