२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

महिनावारी रोकिने बारे केही भ्रम

काठमाडौँ । उमेर बढ्दै जाँदा महिलाहरूमा मासिकश्राव अर्थात् महिनावारी रोकिनुलाई नै मेनोपज भनिन्छ । यति बेला सेक्स हर्मोनमा बदलाव आउँछ । ओभरीले हरेक महिना अन्डा बनाउन बन्द गर्छ अनि एस्ट्रोजनको स्तर घट्छ ।

कुनै पनि महिलामा लगातार १२ महिनासम्म मासिकश्राव नहुनुलाई मेनोपज भनिन्छ । मेनोपज भएपछि महिलाले गर्भधारण गर्न सक्दैनन् । यो भनेको महिलाको प्रजनन क्षमता सकिन लागेको संकेत हो ।

हरेक वर्ष अक्टोबर १८ लाई मेनोपज डेका रूपमा मनाइन्छ । मेनोपजबारे जनचेतना फैलाउन र यसबारे व्याप्त भ्रम र मित्था हटाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । महिलाहरूको औसत आयु बढेसँगै मासिक चक्र बन्द भएका महिलाको सङ्ख्या विश्वभर बढ्दैछ ।

सन् २०११ मा विश्वको कूल जनसङ्ख्यामा ५० वर्ष वा सोभन्दा बढी उमेरका महिलाको अनुपात २२ प्रतिशत मात्रै थियो । सन् २०२१ मा यो अनुपात बढेर २६ प्रतिशतमा पुगेको थियो । महिनावारी जस्तै मेनोपज पनि जीवनको सामान्य चरण हो । तर यससम्बन्धी भ्रमहरू धेरै सुनिन्छ ।

सबै महिलामा एउटै हुन्छ मेनोपज

महिलाको हर्मोनल परिवर्तन उसको सामाजिक–सांस्कृतिक, बायोलोजिक र जीवनशैली जस्ता अनेकौँ कारणमा निर्भर हुन्छ । जीवनशैली अनुसार हरेक महिलामा यो परिवर्तन अलग अलग हुन्छ ।

५० वर्षपछि हुन्छ मेनोपज

महिनावारी बन्द हुने औसत आयु ५१ वर्ष हो । तर यो ४० देखि ६० बर्सबिच जति बेला पनि हुन सक्छ । फरक फरक क्षेत्र र जातीय समूहमा मेनोपज फरक फरक उमेरमा हुन सक्छ ।

तौल वृद्धि

उमेर बढ्दै जाँदा शरीरको मेटाबोलिजम सुस्त हुन्छ अनि तौल पनि बढ्न थाल्छ । मेनोपजकै कारण मात्रै तौल बढ्ने होइन । तौललाई अनियन्त्रित हुनबाट रोक्न डाक्टरहरूले नियमित रूपमा व्यायाम गर्न र सन्तुलित भोजन गर्न सल्लाह दिने गर्छन् ।

हट् फ्लशेज

मेनोपज शुरु हुने बेलामा हट फ्लशेजको समस्या देखिन्छ । यो भनेको अचानक निकै गर्मी महसुस हुनु हो । तर सबै महिलामा यो समस्या नदेखिन पनि सक्छ । यो समस्या मेनोपज शुरु भएको पहिलो २ वर्षमा धेरै नै देखिन्छ । सात वर्षपछि यो बन्द हुन्छ ।

यौन सम्बन्धको इच्छामा कमी

योनी सुख्खा रहने, यौन इच्छाको कमी र तनाव आदिले यौन सम्बन्धलाई असर गर्न सक्छ । तर डाक्टरको सल्लाह र पार्टनरको सहयोगमा महिलाले आफ्नो यौन जीवनलाई सामान्य बेलाको जस्तै बनाउन सक्छन् ।

डिप्रेसन, बेचैनी र मुड स्वीङ्ग

मेनोपजकै कारण डिप्रेसन हुँदैन । तर मेनोपज हुन लागेका महिलामा निद्राको कमीलगायत समस्या देखिने भएकोले चिडचिडापन बढ्न सक्छ ।

मेनोपज करिब ७ वर्षसम्म हुन्छ । तर कसै कसैमा यो १४ वर्षसम्म पनि हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार मेनोपजका ४८ भन्दा धेरै अलग–अलग लक्षणहरू हुन्छन् । यसका केही लक्षणमा हड्डी कमजोर हुने, सुत्नमा समस्या, एकाग्रतामा कमी, स्मरण शक्ति कमजोर हुने, जोर्नीमा दुखाई आदि पर्छन् । करिब ७५ प्रतिशत महिलाहरूमा यस्ता लक्षण देखिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com