२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

कात्तिकमा घट्यो घरजग्गा कारोबार

काठमाडौं । दशैं-तिहार जस्ता ठूला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको छ । दशैं-तिहार जस्ता चाडपर्व एकै महिनामा पर्न जाँदा सार्वजनिक बिदा धेरै हुँदा र नागरिकहरु पनि ‘फेस्टिभ मुड’ मा रहँदा घरजग्गाको कारोबारमा कमी आएको हो ।

गत आर्थिक वर्षमा असोजमा चाडपर्व परेकोले कारोबार घटेकोमा चालु आर्थिक वर्षमा भने कात्तिकमा कारोबार घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

कात्तिकमा जग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको हो । असोजमा २६ हजार ४६ वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

गत आर्थिक वर्षको कात्तिक महिनामा २७ हजार ९३९ लिखत पारित भएकोमा यो वर्षको कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको छ । दशैं र तिहार पर्वको दुवै बिदा कात्तिकमा नै परेकोले पनि यो वर्ष कात्तिकमा घरजग्गाको कारोबार घटेको हो ।

साउनमा ३९ हजार २६३ लिखत पारित हुँदा भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो । यस्तै असोजमा ३९ हजार ८८१ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । कात्तिकमा भने घटेको हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख २२ हजार २८२ लिखत पारित भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ लाख ४० हजार ८७६ वटा लिखत पारित भएको थियो ।

घरजग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा समेत कमी आएको आएको छ । कात्तिक घरजग्गा कारोबारको सेवा कर, रजिस्टेसन दस्तुर र पूँजीगत समेत २ अर्ब १६ करोड ३१ लाख ६१ हजार राजस्व संकलन भएको छ ।

जसमध्ये सेवा कर २० करोड १५ लाख ३५ हजार रजिस्टेसन दस्तुर १ अर्ब ३७ करोड ८ लाख ४४ हजार, पूँजीगत लाभकर ७७ करोड ९ लाख १६ हजार लाभकर संकलन भएको विभागको तथ्यांक छ । कात्तिकमा मात्रै सरकारले २० करोड २२ लाख ९० हजार राजस्व छुट दिएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब २० करोड ६१ लाख ६४ हजार राजस्व संकलन भएको छ । असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार राजस्व संकलन भएकोमा भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४७ हजार र साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा सकारले घरजग्गाको कारोबारबाट ११ अर्ब ८७ करोड ७१ लाख २२ हजार राजस्व संकलन गरेको थियो । कात्तिकमा मात्रै ३ अर्ब ७६ लाख २६ हजार राजस्व संकलन भएको थियो । असोजमा २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार राजस्व संकलन हुँदा भदौमा ३ अर्ब ५६ करोड २९ लाख ७ हजार र साउनमा २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार राजस्व संकलन भएको थियो ।

कात्तिकमा जग्गाको कारोबारमा तराईका जिल्ला नै अगाडि देखिएका छन् । सुनसरीको इनरुवा भूमि सुधार तथा मालपोत कार्यालयमा सबैभन्दा धेरै ११८२ लिखत पारित हुँदा भूमि सुधार तथा मालपोत कार्यालय धनुषामा ११०७ वटा लिखत पारित भएको छ ।

यस्तै झापाको भद्रपुर मालपोतबाट १ हजार ११ लिखत पारित हुँदा सप्तरीको राजविराज मालपोतबाट ८९५ लिखत पारित भएका छन् ।

मोरङको बेलवारी मालपोतमा ७५५ लिखत पारित भएको छ । सर्लाहीको मलंगवा मालपोतमा ६५२ र सिराह मालपोतमा ६३८, कैलालीको धनगढी मालपोतमा ६३१ र महात्तरीको जलेशवर मालपोतमा ६२८ लिखत पारित भएको हो । यसतै पर्साको वीरगञ्ज मालपोतमा ६०८ र सिरहाको लहान मालपोतमा ५७४ लिखत पारित भएको छ ।

जग्गाको कारोबारमा तराईका जिल्लाका मालपोत कार्यालय अगाडि देखिँदा राजस्व संकलनमा भने भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल अगाडि देखिन्छ । ललितपुरको उक्त मालपोतबाट १८ करोड ९४ लाख १५ हजार राजस्व संकलन हुँदा डिल्लीबजार मालपोत कार्यालयबाट १८ करोड १५ लाख ९४ हजार र मालपोत कार्यालय भक्तपुरबाट १४ करोड २६ लाख राजस्व संकलन भएको हो ।

यस्तै काठमाडौंको कलंकी र चाबहील मालपोतबाट क्रमशः १३ करोड १८ लाख २० हजार र १२ करोड ४४ लाख ८३ हजार राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com