२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

७ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ ।

विद्युत् निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठदेखि भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ ।

प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिती र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम ली–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com