२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

गणतन्त्रको विकल्प सुधारसहतिको गणतन्त्र हो, राजतन्त्र होइन : वर्षमान पुन

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायज नहुने बताएका छन्। गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुने तर राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरे।

सत्तारुढ दल माओवादी केन्द्रको चन्द्रागिरी नगरपालिका २ मा शनिबार भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन। नेताको आचरण र व्यवहारमा सुधार आएको छैन। ३ वटा राष्ट्रपति भए र आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो। त्यसैले हामीले आचरण र व्यवहार सुधार गर्नुपर्छ। गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।’

गणतन्त्र प्राप्तिपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय जस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनले बताए।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अरू सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताए।

‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिको क्षेत्रमा राम्रो काम गरेको छ। सुनकाण्ड विरुद्धको अभियान चलाएको छ। अरुले सुन पास गराइरहेका थिए। माओवादीको सरकारले समात्यो त के नराम्रो भयो ?’ उनले प्रश्न गरे।

मध्य पहाडी राजमार्ग माओवादीले बनाएको हो। तर त्यसलाई पनि एमालेले दावी गरिरहेको छ। नौ वटा लोक मार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ। बाटो चौडा पार्ने, लोडसेडिङ हटाउने काम माओवादीले गरेको हो।

‘सुन काण्डका विषयमा पनि हाम्रो पार्टीमाथि नेताहरूमाथि प्रश्न उठ्यो। जनताले प्रश्न उठाउँदैमा भाग्नु हुँदैन। हामीले जवाफ दिनुपर्दछ। हामीले छानबिन समिति बनाऔँ भनेका थियौँ’, पूर्वमन्त्री पुनले थपे, ‘हाम्रो पार्टी भ्रष्टाचार, कालाबजारीलाई संरक्षण गर्दैन। तर पनि आरोप लगाउनेका विरुद्ध भने हामी जुध्नु पर्दछ। सम्बन्धित निकायमा मुद्दा हाल्नु पर्दछ। यदि कसैले गल्ती गरेको छ भने उसको बचाउमा संगठन लाग्दैन। गल्ती गर्ने कसैलाई छोड्नु हुँदैन।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com