२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

नुवाकोटमा आज ४१ हल गोरु जुधाइने, स्पेनी ‘बुलफाइट’को झल्को

काठमाडौँ – माघेसंक्रान्तिकोे अवसरमा नुवाकोटमा आज ४१ हल गोरु गोरु जुधाइने भएको छ । हरेक वर्ष माघेसंक्रान्तिमा नुवाकोटको बेत्रावती, तारुका र पञ्चकन्यामा गोरु जुधाउने मेला लाग्ने गर्दछ ।

तारेकश्वर गाउँपालिका–२ तारुकामा १७ हल गोरु जुधाउने तयारी भएको मेला आयोजक संस्थाका संयोजक मदन श्रेष्ठले बताए । यस्तै, नुवाकोट र रसुवा सीमास्थल विदुर नपा–१० बेत्रावतीमा नौ हल गोरु जुधाउने गरी किसानहरुले दर्ता गराएको आयोजक गोसाइँकुण्ड युवा क्लबका मेला व्यवस्थापन समितिका संयोजक सुरज लवटले जानकारी दिए ।

यस्तै, पञ्चकन्या गाउँपालिकाको पञ्चकन्यामा पनि १५ हल गोरु जुधाउने तयारी भएको छ ।

स्पेनी बुलफाइटको झल्को

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि बिल्कुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ । यहीको गोरु जुधाइलाई अनुशरण गर्दै अहिले नुवाकोटसहित देशका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भए पनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको समितिका अध्यक्ष मदन श्रेष्ठले बताए ।

‘पशु जुधाएर मनोरञ्जन लिन हुँदैन भनेर विरोधका आवाज उठ्नेदेखि धेरैपटक कार्यक्रम रोक्न पनि खोजियो’, विगतलाई स्मरण गर्दै उनी भन्छन्, ‘गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई बचाउन र उनीहरूको जुध्ने रहेर पूरा गर्न निरन्तरता दिइएको हो ।’

तारुकाको गोरु जुधाइको अवलोकन गर्न आन्तरिकसरह नै बाह्य पर्यटक पुग्ने गर्दछन् । टेलिभिजनको पर्दामा स्पेनको बुलफाइट हेर्नेलाई हजारौँको बीचमा बसेर बारीको पाटोमा जुधाएको गोरुलाई स्पेनी झल्को मेटिनेमात्रै होइन त्यो भन्दा उत्कृष्ट हुने गरेको सहभागीको प्रतिक्रिया रहन्छ ।

यहाँ जुधाउने गोरु किसानले आफ्नो खेतीपातीमा जोत्न सघाउन पाल्ने गोरुलाई नै विशेष स्याहारसुसार गर्ने गरेका छन् । जुधाउनका लागि नै भनेर किसानले गोरुलाई बलियो बनाउन, जुरो उमार्नलाई अण्डा, चामल, मासलगायतका घरमा उत्पादित खुराक खुवाउने बताउँछन् गोरुपालक किसान रुपेश अधिकारी । केही किसानले त माघेसङ्क्रान्ति पर्वमा जुधाउनलाई खेतीपातीमा सघाउने समयसमेत घटाएर जुधाउन भनेर नै स्याहारसुसार गर्ने गरेको बताउँछन् गोरुपालक अर्का किसान मनोज श्रेष्ठ ।

कहिलेबाट सुरु भयो त ?

तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाका बताउँछन् । त्यसलाई हरेक वर्ष माघेसङ्क्रान्तिको दिन निरन्तरता दिँदै आएकाले तारुकाको गोरु जुधाइको इतिहास झण्डै दुई सय वर्ष अगाडिदेखिलाई संरक्षण गरिएको हो । किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समितिमार्फत नेतृत्व लिइएको हो ।

गोरु जुधाउन आधुनिकता भित्रन नदिइ मौलिकपन कायम राखेर परम्पराको निरन्तरता, माघेसङ्क्रान्तिको अवसर जुधाइने भएकाले संस्कृतिको संरक्षणमा समेत निरन्तरता दिइएको छ । किसानले गोरु जोत्न छाडेर ट्र्याक्टरको प्रयोगले गाउँमा गोरु देख्न छाडिसके । तर जुधाउनलाई भनेर तारुका (तारकेश्वर)का किसानले जुरो पलाउने स्थानीय जातका गोरु पाल्ने, त्यसलाई खुराक खुवाएर प्रतिस्पर्धा गराउने, बारीको खुला पाटोमा हजारौँ दर्शकको बीचमा गोरु जुधाइको चलनलाई जोगाउँदै आइरहेको स्थानीय ९० वर्षीय झमबहादुर प्रधानले बताए।

‘ट्र्याक्टर प्रयोग गर्नेलाई अनुदान दिइन्छ । गोरु पाल्ने किसानलाई केही छैन ?’, प्रधानले गुनासो गरे, ‘तारुकाको गोरु जुधाइ बचाउन हामी किसानले आधा पेट खाएर भए पनि खुराक खुवाएर पालिएका गोरुलाई जुधाएर परम्परा जोगाएका छौँ ।’

कसरी जाने ?

तारुकाको गोरु जुधाइको महत्व विशेष छ । यहाँको गोरु जुधाइ स्पेनको बुलफाइटभन्दा बढी रोचक हुने हुदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्राथमिकतामा पर्दछ । तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीस्थित कटहरबोट पाटोमा पुग्न काठमाडौँबाट ६० किलोमिटर दूरी छ ।

काठमाडौँबाट धादिङको गल्छीसम्म९पृथ्वी राजमार्ग० ४८ किमी, गल्छीबाट बेलकोटगढी–७ रातमाटेसम्म छ किमी सडक व्यवस्थित कालोपत्र सडक छ । तारकेश्वर वडा नं ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठको अनुसार रातमाटेस्थित त्रिशूली नदीमा निर्माण गरिएको पक्की पुल केही समयअघिदेखि सञ्चालनमा ल्याइएको छ ।

रातमाटेको पक्की पुल तरेर तारुका पुग्न थप छ किमी कच्ची बाटोको दूरी यात्रा गर्नुपर्दछ । धादिङबेँसीबाट दाङसिंह हुँदै आउन पनि सकिन्छ भने सबैभन्दा सहज ‘गल्छी–रातमाटे–तारुका’ १२ किमी दूरीको सडकमार्गबाट गोरु जुधाइ हेर्न चन्दनीस्थित कटहरबोट पाटोमा पुग्न सकिन्छ ।
 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com