२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

काठमाडौँ- विज्ञापन बोर्डले सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड र सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ ।

बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरूको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए । उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जानकारी दिए ।

ऐनको कार्यान्वयनका क्रममा विज्ञापन नियमन गर्ने नियमावली (पहिलो संशोधन, २०८०) र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी भई कार्यान्वयन ल्याइएका भन्दै अध्यक्ष हुमागाईँले सोको पालनामा सहयोग गर्न कलाकार र सञ्चार माध्यमलाई आग्रह गरे ।

विज्ञापनमा अभिनय गर्दा लैङ्गिक र उपभोक्तामैत्री हुनुपर्ने, अश्लील र हिंसालाई प्रोत्साहन गर्ने तथा अफबाह फैलाउने खालका हुन नहुने, राष्ट्रियता एवं राष्ट्रिय स्वाधीनतामा खलल पुर्याउन नहुने तथा कानुनतः निषेध गरिएका वस्तु र सेवाको प्रवर्द्धन गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

ती व्यवस्था पालना नभएमा कानुनी कारबाही हुने भएकाले त्यसप्रति सजग रहन अध्यक्ष हुमागाईँले आग्रह गरे । उनले सरकारले ल्याउने सामाजिक सञ्जाल व्यवस्थापन ऐनमा पनि यस विषयमा उपयुक्त व्यवस्था गराउन आग्रह गरिएको जानकारी दिए ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवा केसीले जानेर वन नजानेर कानुन विपरीत हुने विज्ञापनमा अभिनय गर्दा कलाकारले समस्या खेप्नु परेको उल्लेख गर्दै होर्डिङबोर्ड र अन्य विज्ञापनमा नेपाली कलाकारको सहभागिता अनिवार्य गराउनुपर्ने बताए ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले विद्यमान ऐन, कानुन र आचारसंहिताको पालनासहित मौलिक र सिर्जनात्मक भई व्यावसायिकतालाई प्रोत्साहन गर्ने गरी विज्ञापनमा कलाकारले अभिनय गर्नुपर्ने बताए ।

कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, गौरी मल्ल, दीपाश्री निरौला, धीरेन शाक्य, रवीन्द्र खड्कालगायत सहभागी थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com