२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

लघुवित्तको विकल्प छैन, बचाउन सबै लाग्नुपर्छ : सांसद चौधरी

काठमाडौँ- लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्ने सांसद भगवती चौधरीले जोड दिएकी छन् । ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरूमा वित्तीय पहुँच पुर्याउने तथा स्वाबलम्बन र उद्यमशीलतालाई अंगीकार गर्ने लघुवित्तको विकल्प नभएको जिकिर गर्दै सांसद चौधरीले लघुवित्त क्षेत्रमा भित्रिएका बिक्रृतिको अन्त्य गर्दै जानुपर्नेमा जोड दिएकी हुन् ।

आइतबार चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको समापन समारोहमा बोल्दै लघुवित्तकर्मी समेत रहेकी चौधरीले अझै पनि ६० लाख जनता गरिबीको रेखामुनि रहेकोले उनीहरूको आर्थिक उत्थानका लागि लघुवित्त संस्थाहरूको योगदान महत्वपूर्ण रहने बताइन् । ‘अझै पनि २०.२७ प्रतिशत अर्थात ६० लाखको हाराहारीमा गरिबीको रेखामुनि जनता रहेको देखिन्छ । अहिले लघुवित्तले ५९ लाख सदस्यहरूलाई सेवा दिइरहेको छ । उनीहरूको आर्थिक उत्थानका लागि पनि लघुवित्त कार्यक्रमको भूमिका रहनुपर्छ,’ लघुवित्त कार्यक्रमकै कारण दूरदराजमा रहेका महिलाहरू आर्थिक सबलीकरणमा जोडिएको भन्दै चौधरीले भनिन् ।

नेपालको लघुवित्त सम्बन्धी छुट्टै कानुन नहुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संघ संस्थालाई हेर्ने बाफिया एक्ट अनुसार व्यवहार गर्दा लघुवित्त क्षेत्रमा समस्याहरू उत्पन्न भएको भन्दै चौधरीले लघुवित्तको अवधारणा अनुसार लघुवित्त चल्न नसकेको पनि जिकिर गरिन् । लघुवित्तको मूल मर्म अनुसार वित्तीय कारोबार सँगै सामाजिक कार्यहरूलाई अगाडि बढाउनु पर्नेमा बाफिया एक्टका कारण लघुवित्त संस्थाहरू बढी मुनाफामुखी हुँदा समस्या देखिएको भन्दै सांसद चौधरीले भनिन्, ‘गरिबीको रेखामुनि रहेकोहरूलाई सेवा दिनको लागि लघुवित्त स्थापना गरिएको हो तर, बैंक तथा वित्तीय संस्था अन्तर्गतको बाफिया एक्ट ल्याइयो । त्यसको आधारमा आउँदा लघुवित्त सञ्चालकहरूले सोसल क्रेडिटको काम, तालिमहरू गर्नुपर्नेमा बाफिया एक्ट आए पनि सामाजिक कार्यहरू छायाँमा परेर गए । सञ्चालकहरूले मुनाफा मुनाफा मुनाफा मात्रै खोजे त्यसले समस्या निम्त्यायो ।’

आफूले ११ वर्ष अगाडि नै राष्ट्र बैंकलाई हाम्रो जस्तो सानो मुलुकमा बढीमा २५ वटा लघुवित्त भएपुग्ने भन्दै धेरै लघुवित्त खोल्न नहुने सल्लाह दिएको भन्दै चौधरीले बढी लघुवित्त संस्थाहरू भएपछि एउटा लघुवित्तको कर्जा तिर्न अर्को लघुवित्तबाट कर्जा लिने कार्य भइरहेको बताइन् । ‘इन्भेष्टरहरूको उद्देश्य हुन्छ मुनाफा, मुनाफा मुनाफा । यसले सोसल क्रेडिट, सोसल कार्यहरू, तालिम भ्रमणहरू हराए । अहिले इण्डष्ट्री नै धरासायी भएर जानुमा यही मुख्य कारण हो ।’ सदस्यहरूले पनि जथाभावी कर्जा लिँदा र लघुवित्तकर्मीहरूले पनि कर्जाको विश्लेषण नगरी तार्गेट पुरा गर्न एउटैलाई १० वटासम्मले ऋण दिँदा समस्या निम्तिएको भन्दै चौधरीले गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर सुधार्न लघुवित्तहरूले उद्देश्य अनुसार काम गर्नुपर्नेमा जोड दिइन् ।

पछिल्लो समय लघुवित्त र बैंकहरूमाथि मणिराम ज्ञवाली र दुर्गा प्रसाईं जस्ताले पटकपटक आक्रमण गरिरहँदा राज्य टुलुटुलु हेरेर बसिरहेको चौधरीले उल्लेख गरिन् । ‘मणिराम ज्ञवालीहरूको संघर्ष समितिले गाउँगाउँमा २ हजार ३ हजार उठाउँदै लघुवित्तहरूको ऋण तिर्नुपर्दैन भनिरहेका छन् । दुर्गा प्रसाईंहरूले २० लाख ऋण लिनेलाई ऋण तिर्नु पर्दैन भनेर भाषण गरिरहँदा सरकार टुलुटुलु हेरेर बसिरहेको छ । नियमन निकाय नेपाल सरकारले नियन्त्रण गर्नैपर्छ,’ चौधरीले भनिन् । साथै, उनले एकाध संस्था र व्यक्तिहरूले लघुवित्त र बैंकको उद्देश्य काम नगरेकोमा सबैलाई दोष दिएर समग्र क्षेत्रलाई नै सिध्याउने कार्य गर्नु गलत रहेको जिकिर गर्दै गलत गर्ने संस्था र व्यक्तिहरूलाई कारवाही हुनैपर्ने बताइन् ।

चौधरीले लघुवित्तकर्मीहरूलाई पनि सच्चिएर सदस्यहरूलाई बढी सेवा र सहयोग गर्नेमा जानुपर्नेमा जोड दिइन् । आफ्ना सदस्यहरूलाई बढीभन्दा बढी सेवा दिने, उनीहरूको व्यवसायलाई प्रवर्द्धन गर्ने, सीप भएकालाई प्रोत्साहन गर्ने कार्य गरे लघुवित्तको उद्देश्य पुरा हुने उनले बताइन् । नेपालको लघुवित्त क्षेत्रमा अध्ययन अनुसन्धानका कार्यहरू एकेडेमिक क्षेत्रबाट नभएको चौधरीले बताइन् ।

‘लघुवित्त क्षेत्रले गरेका राम्रा कामहरू, गरिबी न्यूनीकरणको काम, वित्तीय साक्षरताको काम, टीम विल्डिङको काम, नेतृत्व विकासको कामहरूका बारेमा एकेडेमिक क्षेत्रबाट, मिडियाको क्षेत्रबाट र प्राज्ञिक क्षेत्रबाट पनि अध्ययन गर्नुपर्छ । आफ्नै देशमा केही गरेर खानेहरूलाई प्रोत्साहन गर्न सबै लाग्नुपर्छ,’ उनले भनिन् । नेपालको विकासमा खासगरी गरिबीको रेखामुनि रहेका समुदायको उत्थानमा लघुवित्त मार्फत धेरै काम गर्न सकिने भएकोले देखिएका समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com