२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता

नेपाली हवाई कम्पनीलाई युरोपेली संघको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा सकारात्मक

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ ।

सो भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्वपरिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । साथै उनले सोसियलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ अलायन्सजस्ता संस्था सामाजिक न्याय, मानवअधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रताका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताएका थिए ।

‘दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल तल्लीन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौँ,’ राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास  गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनीलगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिइ नेपालको आर्थिक विकासको आकाङ्क्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी उनले विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले जलवायुसम्बन्धी हानिनोक्सानी कोषमा गरेको सहयोग प्रतिबद्धतालाई स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले सहभागितामुलक र समावेशी लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक–आर्थिक मुद्दामा दुई देशबीच अन्तर्राष्ट्रिय मञ्चहरूमा समान धारणा रहेको पनि बताएका थिए ।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै उनले यसका लागि नेपाललाई स्रोतसाधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

नेपालको वर्तमान लक्ष्य कृषिलाई आधुनिकीकरण गर्नु, जलस्रोत तथा ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उपयोग गर्नु, पूर्वाधार विकासलाई तीव्र पार्नु, पर्यटनका सम्भावनालाई उपयोग गर्नु र जलवायु परिवर्तनको नकारात्मक प्रभावविरुद्ध लड्नु रहेको उनले बताएका थिए । ‘नेपालको आर्थिक विकासका लागि कृषि क्रान्ति, जलस्रोत र पर्यटनको विकास आवश्यक छ, यसमा नेपालले सहयोगको अपेक्षा गरेको छ,’ राष्ट्रपति पौडेलले भने ।

उनले बर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनःस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकास मन्त्रीका रूपमा जर्मनको भ्रमण गरेको स्मरण गरेका थिए । उनले युक्रेनमा झुक्याएर पुर्याइएका नेपालीलाई छुटाउन पहलका लागि पनि आग्रह गरेका थिए ।

नेपाल र जर्मनीबीच विद्यमान व्यापार, लगानी र वाणिज्यका सम्बन्धलाई थप विस्तार गर्न निजी क्षेत्रलाई अभिप्रेरित गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले गत महिना काठमाडौँमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा जर्मन लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको उल्लेख गरे । ‘नेपाल सरकार जर्मन लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहन्छ,’ राष्ट्रपति पौडेलले भने ।

हालैका वर्षमा जर्मनी नेपाली युवाका लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीपजन्य तालिमको लागि एक आकर्षक गन्तव्यका रूपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकाले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुत हुने उनले विश्वास व्यक्त गरेका थिए ।

उनले नेपाल वायु सेवालाई युरोपेली सङ्घको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउन जर्मन सरकारको दह्रो सहयोगको आशा व्यक्त गरेको पनि पोखरेलले जानकारी दिए  ।

सो अवसरमा जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासका लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताएको उनको भनाइ उदृत गर्दै प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले आइतबार जर्मन वैज्ञानिकहरूसँगको भेटमा जलवायु परिवर्तनका असरबारे राखेको भनाइप्रति चासो राख्दै जर्मन राष्ट्रपतिले जर्मन त्यसबारे गम्भीर रहेको र नेपालप्रति आवश्यक सहयोगका सन्दर्भमा सहानुभूति रहेको उल्लेख गरेका थिए । साथै उनले नेपाल जर्मनको पुरानो मित्र भएको बताउँदै संयुक्त राष्ट्रसङ्घका मञ्चमा पनि नेपालसँग जर्मनको धेरै कुरा मिल्ने उल्लेख गरे ।

जर्मनीका राष्ट्रपतिले नेपालजस्तो मुलुकको अप्ठ्यारो बुझेको र त्यसमा आफ्नो सहानुभूति रहेको बताएका थिए । साथै उनले नेपाली हवाई कम्पनीलाई युरोपेली सङ्घको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा आफू सकारात्मक रहेको बताएका थिए ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको हो । प्रेस सल्लाहकार पोखरेलले जर्मनले राष्ट्रपति पौडेललाई यसपटकको भ्रमणमा खुलेर स्वागत गरेको र खुलेर सहयोग गर्ने वचन दिएको बताए । दुई पक्षीय भेटवार्ता अघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com