२०८३ श्रावण १ - Fri Jul, 2026 -

Janasewa News

नेपालगञ्ज उपमहानगरपालिकाको बजेट एक अर्ब ५० करोड ३८ लाख ८६ हजार

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल रु एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उमहानगरपालिकाको १५औँ अधिवेशनमा उपप्रमुख कमरुद्धिन राईले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो । आगामी आवका लागि विनियोजित बजेट चालु आवको भन्दा करिब रु ३५ करोड कम हो ।

प्रस्तावित बजेटमा आम्दानीतर्फ सङ्घका तर्फबाट ससर्त अनुदान रु ६१ करोड २४ लाख ७७ हजार, समपूरक अनुदान रु एक करोड र विशेष अनुदान रु एक करोड ५० लाख विनियोजन गरिएको छ । त्यस्तै, प्रदेशका तर्फबाट ससर्त अनुदान रु दुई करोड चार लाख, समपूरक अनुदान रु एक करोड ४० लाख रहेको छ । वित्तीय समानीकरण संघको रु २७ करोड ९५ लाख, प्रदेशको रु दुई करोड पाँच लाख तथा आन्तरिक आयतर्फ रु २० करोड ११ लाख संकलन गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै राजस्व बाँडफाँट, राजस्व बाँडफाँट रोयल्टी, घर जग्गा रजिष्ट्रेसन (मालपोत), आन्तरिक आय, आन्तरिक आय (मौज्दात)लाई उपमहानगरपालिकाले कूल आम्दानीका रुपमा उल्लेख गरेको छ ।

व्ययतर्फ चालु खर्च रु ३५ करोड ५२ लाख, संघ समपुरक खर्च रु एक करोड, प्रदेश समपूरक खर्च रु एक करोड ४० लाख, अन्य समपूरक रु ७५ लाख, २३ वडा कार्यालयका लागि रु २० करोड विनियोजन गरिएको बजेट वक्तव्यमार्फत उपप्रमुख राईले जानकारी दिए । त्यसबाहेक वित्तीय व्यवस्था (सावा), वित्तीय व्यवस्था ब्याज भुक्तानी, नगरस्तरीय प्रवर्द्धनात्मक, विषयगत शाखा उपशाखालगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

उपमहानगरले निर्माण गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न, विद्यालय अनुगमन, खेलकुद कार्यक्रममा जोड दिँदै करको दरभन्दा दायरालाई फराकिलो पारी आन्तरिक आय वृद्धि गर्ने नीतिअनुरुप राजस्वको दायरामा नआएका क्षेत्रलाई ल्याउने गरी बजेट विनियोजन गरिएको उपप्रमुख राईले बताए । उनले समग्र नगर विकासका लागि आर्थिक, पूर्वाधार, सामाजिक, वन तथा वातावरण, विपद् व्यवस्थापन, संस्थागत सुशासन लगायतका विषयलाई बजेटले समेटेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाको आज बसेको १५औँ नगरसभा बैठकमा उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । उपमहानगर प्रमुख प्रशान्त विष्टले उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई धार्मिक सहिष्णुता र मानवमैत्री सहरका रुपमा रुपान्तरण गर्न जोड दिइएको बताए ।

उनले विभिन्न ताल, तलैया तथा पार्कको पहिचान, स्तरोन्नति तथा निर्माण गरी संरक्षण तथा संवर्द्धन गर्ने उल्लेख गर्नुभयो । उपमहानगर–२० मा जलन उपचार केन्द्र निर्माणका लागि आवश्यक पहल गर्न  नीति कार्यक्रमले जोड दिएको छ ।

नीति तथा कार्यक्रममा उपमहानगरलाई स्वास्थ्य प्रवर्द्धनात्मक सहरको रुपमा रुपान्तरण गर्दै लैजाने, घरघरमा दक्ष जनशक्ति खटाई निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्थापन गर्ने, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क मोतिविन्दुको अपरेसन कार्यक्रमको निरन्तरता, अपाङ्गता भएकाको स्वास्थ्य बीमा, विद्यालयमा सूचना प्रविधिमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनमा प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने, विद्यालयको विपद् व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, विद्यालयका पूर्वाधार अपाङ्गमैत्री, लैङ्गिकमत्री वातावरण निर्माणमा जोड दिनेलगायत कार्यक्रम समेटिएका छन् ।

यस्तै पर्यटन प्रवर्द्धनका लागि ‘भिजिट वेष्टर्न नेपाल २०८१’ सञ्चालन, नगरभित्रका विभिन्न धार्मिक स्थलहरुको संरक्षण, कृषि कार्यमा कृषि मेसिनरी, औजार उपकरण तथा नवीनतम प्रविधिको प्रयोगमार्फत बाली उत्पादन लागत न्यूनीकरण गरी कृषकको आम्दानीमा वृद्धि गर्दै लैजाने, प्राङ्गारिक खेतीका क्षेत्र विस्तार गर्ने, छाडा पशु व्यवस्थापनका लागि छिमेकी पालिकासँग समन्वय, सहकार्य गर्दै कान्जीहाउसको स्तरोन्नति गर्ने, पशुको नस्ल सुधार गर्न गाईभैँसीमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको नगरसभाको बैठकमा उपमहानगरका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष प्रमोद रिजाल, वडा नं २१ का अध्यक्ष राजकुमार साहु, वडा नं १८ का अध्यक्ष अध्यक्ष दीपककुमार बर्मा, वडा नं ४ का अध्यक्ष गोपाल पुन, वडा नं २० का अध्यक्ष कौशलकुमार धोबी, वडा नं ५ का अध्यक्ष सराफत अलि शेष र वडा नं २ का मनोजकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com