२०८१ माघ २९ - Tue Feb, 2025 -

Janasewa News

बाढीपहिरोबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने काम अघि बढ्यो – मन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालैको बाढीपहिरोबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने काम अघि बढिसकेको जनाएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनमा भएका कामकारवाहीका बारेमा जानकारी दिन सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाढीपहिरोका कारण कृषि तथा पशुपन्छी विकास क्षेत्रमा करिब ६ अर्ब नोक्सानी भएको भन्दै प्रभावित किसानलाई राहत उपलब्ध गराउने काम अघि बढिसकेको बताएका हुन् । उनले वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएको जानकारी दिए ।

किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सय दिने प्रगति विवरणमा उल्लेख छ । रासायनिक मलको सहज आपूर्ति तथा बिक्री वितरणका लागि हालसम्म ४ लाख ६० हजार मेट्रिक टन मल आयातका लागि टेन्डर भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्री अधिकारीले यस अवधिमा मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनु पर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताए । उनले कृषि क्षेत्रमा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाए ।

मन्त्री अधिकारीको  ४४ बुँदे प्रगति विवरणमा बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ स्वीकृत भई कार्यान्वयनमा रहेको र यस अवधिमा पशुधन बीमातर्फ ३७ हजार ६ सय ११ र बाली बीमातर्फ तीन सय २३ बीमालेख जारी भएको उल्लेख छ । खाद्यवस्तुमा स्वच्छता तथा गुणस्तर कायम गर्न २ हजार ७ सय ४६ पटक बजार अनुगमन निरीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com