२०८३ बैशाख १० - Thu Apr, 2026 -

Janasewa News

एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ : उपराष्ट्रपति यादव

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुक एकजुटताका साथ अघि बढ्न सके सबै क्षेत्रले द्रुत विकासको गति लिन सक्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले एकताको सूत्रमा बाँधिएको मुलुक आर्थिकरूपमा थप सुदृढ र बलियो बन्न सक्नेमा जोड दिएका छन् ।

“राष्ट्रिय एकता दिवसले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव र समाजमा समरसता तथा भाइचारा अभिवृद्धि गराउनमा महत्त्वपूर्ण उत्प्रेरक बन्न सकोस्”, उपराष्ट्रपति यादवले भनेका छन् ।

हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्तीका रूपमा पनि मनाइन्छ । यो दिवस नेपालको विविधतामा एकतालाई बलियो बनाउन र मुलुकको एकीकरणमा योगदान पुर्‍याउनेलाई सम्झिने दिनको रूपमा पनि हेरिन्छ ।

उपराष्ट्रपति यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन दिवसले एउटा मञ्च प्रदान गर्ने जनाउँदै नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बीचमा एकताको उत्सव मनाउने महत्वपूर्ण अवसर भएको बताएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिने विविध कार्यक्रमले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न सबैलाई उत्प्रेरित गर्न सक्नुपर्ने उनको भनाइ छ ।

“दिवसले युवाहरूलाई आफ्नो मातृभूमि र देशप्रति समर्पण एवं सेवाको भावना विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसके मात्र यसको सार्थकता पुष्टि हुन सक्दछ, नेपालको इतिहास, संस्कृति र वैभवशाली सम्पदाप्रति गौरवको भावनालाई बढावा लिने सुन्दर अवसरका रूपमा यसको उपयोग गर्नुपर्दछ”, उनले आफ्नो सन्देशमा भनेका छन् ।

आपसी वैमनस्यता, द्वन्द्व र कलुषित भावनाहरू त्याग्दै आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक उन्नयनका लागि सामूहिक रूपमा काम गर्न सञ्चार गर्ने जनाउँदै उनले सो दिवसले मुलुकको सबै भूगोल एवं क्षेत्रमा समान विकासको पृष्ठपोषण गर्दै देशको गरिबी र बेरोजगारीजस्तो समस्याविरूद्ध लड्न एकजुट भई अघि बढ्न आह्वान गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com