२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालीनदी मेला सुरू

शालिनदी (काठमाडौँ)- मनोकांक्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वी भेगमा एक महिने कठोर माधवनारायण व्रत सुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ । स्वस्थानी व्रत र साँखु शालीनदी मेला आजदेखि सुरू भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा महिला, पुरूष र सात जना पुजारी गरी दुई सयभन्दा बढी  व्रतालु सहभागी हुने गरी तयारी भएको शङ्खरापुर नगरापलिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । व्रतालुको यकिन आज अपराह्नसम्म हुने जनाइएको छ ।

“चार दिनसम्म व्रतालु थपघट हुन सक्छन्, व्रतालुले बिहान ५ बजे स्नान, त्यसपछि गणेशपूजा, मध्याह्नमा नित्य महादेव र पार्वती पूजा, बेलुकी साल्खाटोलदेखि ज्योतिर्लिङ्गेश्वरलगायत साँखु बजार सहस्रधारासहित परिक्रमाको कार्यक्रम हुन्छ,” उहाँले भन्नुभयो । व्रतालुले आज माधवनारायणका मूल पुजारीसँग  बेलुकी जल लिएपछि जुत्ता चप्पल छुन नहुने र नून खान नहुने व्रतविधि छ ।

माधवनारायण व्रतका नियम

व्रतालुले एक महिनासम्म नून, माछा, मासु, मरमसला, पशुपन्क्षी तथा जनावर, जुत्ता, मोजा, मगन्ते, रजस्वला भएकी महिला, जुत्ता, चप्पल लगाएका मान्छेलाई छुन नहुने सनातनदेखिको नियम छ । व्रतालुले दूध र पानीबाहेक अन्य पेयपदार्थ सेवन गर्नुहुँदैन ।

व्रतालुको भोजन 

दूध, चामलको भात, घिउ, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो मात्र भोजन गर्नुहुने नियम रहेको माधवनारायण व्रतका विषयमा खोज गरिरहनुभएका इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताउनुभयो । “भीमा एकादशीका दिन व्रतालुले दुई पटक व्रत बस्नुपर्छ, व्रतपछि सुन्तला, उखु, तरूल, पिँडालु, दूधलगायत फलाहार मात्र भोजन गर्ने नियम छ, भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा व्रतमा भोजन गर्न वर्जित गरिएका चीज आएमा भोजन छोड्नुपर्छ, यस्तो अवस्थाका लागि पहिल्यै चिउरा, चाकु, घिउ आदि नजिकै राखेर अर्कै थालमा बसेको स्थानबाट नउठी खान सकिन्छ,” उहाँले भन्नुभयो ।

व्रतालुले भोजन गर्दागर्दै उठ्नुहुँदैन । उठेमा सँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिलेसमेत भोजन छोड्नुपर्छ । उठेपछि फेरि भोजन गर्नुहुँदैन ।

व्रतालुले गर्न नहुने 

व्रतालुले सवारी चढ्न हुँदैन । बिरामी हुँदा पनि औषधि सेवन गर्न पाइँदैन । आफन्तको जुठो, सुतक बार्नुपर्दैन । साबुन तथा अन्य वस्तु छुन तथा प्रयोग गरी स्नान  गर्नहुँदैन । गोल तथा दन्तमञ्जन प्रयोग गर्नुहुँदैन । व्रतालुले उपरखुट्टी लगाएर, मेचमा र खाटमा बस्न पनि हुँदैन । नाङ्गो गोडाले एक महिना हिँडेरै व्रत समापन गर्नुपर्छ ।

परदेश यात्रा

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गर्छन् । पहिलो दिन शालिनदीबाट– बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत् गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङ्बाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ ।

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी  र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मै) खुवाउने प्रचलनसमेत छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।

परदेशमा भोजन गर्ने स्थान

परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ । परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घिउ, चिनी, लप्सी, रातो मुला, अदुवा आदि व्रतालुले लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजनविधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताउनुभयो ।

माघ शुक्ल चतुर्दशीका दिन देव निमन्त्रणा गरी पूर्णिमामा अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ । अश्वमेध यज्ञ गरेको भोलिपल्ट  व्रतालुले माघ गाउने (मिगा पूजा) गर्छन् । शिवरात्रिका दिन माधवनारायणका व्रतालुले जाग्राम बस्नुपर्ने व्रत विधान छ । महिला व्रतालुले पहिरन र टीका पनि रातो लगाउनुपर्छ । पुरूष व्रतालुले भने रातो टीका वस्त्र लगाउन नहुने विधि छ । नित्य पूजा अघि पुरूषले चन्दनको टीका लगाउनुपर्छ ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहमा पार्वतीले यो व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको शिव, स्कन्दलगायत पुराणमा वर्णन गरिएको छ । पार्वतीको आज्ञाअनुसार तीनै लोकमा स्वस्थानीको व्रत सुरू भएको विश्वास गरिन्छ । स्वस्थानीको व्रतविधि बताउन स्वर्गलोकमा नारद ऋषि र मर्त्यलोकमा सप्तर्षि एवं पाताललोकमा अश्वत्थामालाई पार्वतीले पठाउनुभएको कथा छ ।

साँखुमा व्रत बसेका मनोकांक्षा पूरा गर्न, परिवारको सुख एवं खुसीका लागि कठिन नियम पालना गरेर बसेको बताउँछन् । भक्तपुरबाट माधवनारायण मेला भर्न साँखु पुग्नुभएकी पार्वती खरेल मनोकामना पूरा होस् भनी आफू यहाँ आएको बताउनुहुन्छ । उहाँसँग साथीहरू पनि हुनुहुन्छ ।

व्रत गर्नेको कामना सिद्ध भएकाले आफूहरू पनि नियम पालना गरी आएको उहाँले सुनाउनुभयो । भगवान् विष्णुको स्वरूप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखी यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्दै आएको छ । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com