२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

उपराष्ट्रपति यादव र राजदूत श्रीवास्तवबिच भेटवार्ता

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रवार भएको भेटमा दुई मुलुक बिचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग र सहकार्य लगायतका विषयमा छलफल भएको बताइएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र भारतबिच सौहार्दता, मित्रता, सदभावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं वृहत् सम्बन्ध रही आएको बताए । ‘दुई देशबिचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्’ उनले भने, ‘नेपाल र भारतबिच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवं जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दीयौं पुरानो परम्परा छ ।’

उपराष्ट्रपति यादवले हालैका वर्षहरूमा नेपाल–भारत सहयोग र विकास साझेदारीले विशेषगरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुसी व्यक्त गरे । ‘छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नेबरहुड फर्स्ट’ नीतिको नेपालले प्रशंसा गर्दछ, यसबाट भारतले आफ्ना छिमेकी राष्ट्रहरूलाई दिएको प्राथमिकता र महत्त्व प्रतिबिम्बित हुन्छ’ उनले भने, ‘निकट छिमेकीका नाताले भारतसँग नजिकको सहकार्य गर्न पाउँदा खुसी छौँ।’

सन् २०२४ मा भारतको विदेश मन्त्री र विदेश सचिवले गरेका नेपाल भ्रमण तथा गत साता भएको वाणिज्य सचिवस्तरीय द्विपक्षीय बैठक तथा यस प्रकारका अन्य द्विपक्षीय संयन्त्रहरूको बैठकले दुई देशबिच आपसी विश्वास र सहयोगको वातावरण बनेको उनले बताए ।

उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रही आएको उल्लेख गर्दै भारतबाट आर्थिक, प्राविधिक लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएको बताए । ‘हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, जलविद्युत तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आईसीपी) र मानव संसाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्त्वपूर्ण छ’ उनले भने, ‘निकट छिमेकीका रूपमा हाम्रा दुई देशको विगत, वर्तमान र भविष्य जोडिएको छ, हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रो मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्दछ ।’

‘सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ, यस संक्रमणकालमा हामीले आफ्नो क्षमता विकास गर्नुपर्ने बताउँदै उपराष्ट्रपति यादवले यसका निमित्त जनताको दक्षता बढाउने, विभिन्न वस्तुको उत्पादन गर्ने तथा पूर्वाधार निर्माण गर्ने जस्ता विषय पनि प्राथमिकतामा रहेको बताए ।

उनले भेटमा दुई मुलुक सार्क, विम्सटेक, बीबीआईएन जस्ता क्षेत्रीय तथा संयुक्त राष्ट्रसङ्घ जस्ता बहुपक्षीय मञ्चहरूमा पनि निकट रूपमा सहयोग र सहकार्य गर्दै आएको पनि उल्लेख गरे ।

राजदूत श्रीवास्तवले भारतले ‘नेबरहुड फस्ट’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै गहुँ निर्यातमा प्रतिबन्धका बाबजूत नेपालाई दुई लाख टन गहुँ निर्यातका लागि अनुमति दिएको बताए । भैरहवामा भारतले यसै वर्ष सम्पन्न हुनेगरी एकीकृत सुरक्षा जाँच चौकी निर्माण गरिरहेको जनाउँदै उनले नेपाललाई भारतले एक हजार चौसट्ठी मेगावाट बिजुली आपूर्ति गरिरहेको र बाढीका बेला १० वटा बेलीब्रिज पनि हस्तान्तरण गरेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com