२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

‘पार्टीलाई सशक्त बनाउन नेता, कार्यकर्ता रूपान्तरण हुनुपर्छ’

बनियानी (झापा)- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई सशक्त बनाउन नेता तथा कार्यकता रूपान्तरण हुनुपर्नेमा जोड दिएका छन्।

माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको आज आयोजित पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै यसका लागि नेता तथा कार्यकर्ता रूपान्तरण हुनुपर्नेमा जोड दिए।

‘पार्टीलाई थप सशक्त र जनता केन्द्रित बनाउन सबै नेता–कार्यकताहरू तल्लो तहमा उत्रिएर वैचारिक रूपमा नागरिकलाई संगठित गर्नुपर्छ’, नेता गजुरेलले भने, ‘अब युवाहरू जाग्नु पर्ने समय आएको छ । मुलुकमा सकारात्मक परिवर्तन ल्याउनका लागि युवाको सक्रियता आवश्यक छ।’ पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटि भएको उनले उल्लेख गरे।

‘बिरुवा आधुनिक भए पनि परम्परागत रूपमा मलजल गर्दा प्रतिफल पाउन सकिँदैन’, नेता गजुरेलले भने, ‘हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नुपर्छ।’

बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईं, केन्द्रीय सदस्य इन्द्र आङ्बोलगायतले उत्पादन र रोजगारीका क्षेत्रमा पार्टीले काम गर्नुपर्ने बताएका थिए।

फागुन ३ गतेदेखि हुलाकी राजमार्ग अभियान

नेकपा (माओवादी केन्द्र) को राष्ट्रव्यापी हुलाकी राजमार्ग केन्द्रित अभियान झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि सुरू हुने भएको छ। केन्द्रीय कार्यक्रम अनुरूप देशव्यापी रूपमा कचनकवलबाट छ महिने अभियान सुरू हुन लागेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिए।

हुलाकी राजमार्गबाट सुरू हुने अभियान महाकाली पुगेर पुनःमदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बूको सगरमाथा फेदीमा समापन हुने उनले बताए। हुलाकी राजमार्ग केन्द्रित अभियानका लागि आज पार्टीको पाँचौँ पूर्ण बैठकले कार्यविभाजन गरेको छ। पार्टी कार्यकर्ता परिचालनदेखि गाउँ, नगर अधिवेशन सम्पन्न गर्नेलगायत कार्य भइरहेको पार्टीले जनाएको छ।

बैठकमा अभियानको महत्व र औचित्यमाथि प्रकाश पार्दै पार्टीका जिल्ला इञ्चार्ज झलकसिंह दर्लामीले पार्टीलाई सशक्त बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको उल्लेख गरे। उक्त अभियानलाई सफल बनाउन एकीकृत र केन्द्रीकृत कार्ययोजना बनाइएको उनले जानकारी दिए।

पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष राजु आचार्य (अग्नि) को अध्यक्षमा भएको कार्यक्रममा पार्टीका कचनकवल गाउँपालिकाका अध्यक्ष सुकराज लिम्बूले स्वागत गरेका थिए भने जिल्ला सचिव टुडूले कार्यक्रम सञ्चालन गरेका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com