विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कुलमान घिसिङलाई पदबाट हटाएर उनको ठाउँमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
विगतमा पनि सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। पछि उनलाई हटाएर फेरि कुलमानलाई नै ल्याइयो।
घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए।
मन्त्रिपरिषद बैठकमा सहभागी एक अर्का मन्त्रीका अनुसार ऊर्जामन्त्री दिपक खड्काले कुलमान घिसिङलाई पदमुक्त गर्ने प्रस्ताव पेस गरेका थिए। त्यसमा प्रधानमन्त्री केपी ओलीले अन्य मन्त्रीहरूको राय सोधे।
छलफल क्रममा गृहमन्त्री रमेश लेखकले घिसिङलाई हटाउन नहुने बताएका थिए। यो विषय अदालतसम्म पुगे अदालतले घिसिङलाई फेरि पुनर्स्थापना गर्ने सम्भावना भएकाले सरकारले यस्तो निर्णय गर्न नहुने मन्त्री लेखकको धारणा थियो।