प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मन्त्री हेरफेरका विषयमा आज छलफल हुँदैछ ।
छलफलको समय भने निर्धारण भइसकेको छैन । तर मन्त्री हेरफेरको एजेण्डासहित आज दिउँसो देउवासँग भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालय स्रोत बताउँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चौथो कार्यकालको पहिलो वर्ष सकिंदै गर्दा मन्त्रिपरिषदमा उल्लेख्य हेरफेर चाहेका थिए, जुन प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसको अनिच्छाका कारण सम्भव हुन सकिरहेको छैन।
औसतभन्दा कमजोर कार्यसम्पादन भएका मन्त्री पहिचान गरेर हेरफेर तयारी गरेका प्रधानमन्त्री ओलीले यसबीचमा तिनको सूची सहित कांग्रेससँग केही चरण कुराकानी गरिसकेका छन् । तर, आफ्नो दलको केन्द्रीय कार्यसमितिकै बैठकबाट ओली सरकारको पहिलो वर्षको समीक्षा गरेको कांग्रेसले अहिले पठाइएकै मन्त्रीहरूलाई कायम राख्ने निर्णय गरेपछि उनी पछि हटेका थिए ।



