दलित तथा जनजातिका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान
वीरगञ्ज (पर्सा) । जनजाति कल्याण आश्रम नेपालले ‘आमाको माया छात्रावास’मार्फत् देशभरका दलित तथा जनजातिका बालबालिकालाई निःशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएको छ । ‘जाऔँ बालौँ दीप त्यहाँ, जहाँ अझैँ अन्ध्यारो छ’ भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको उक्त छात्रावासले दुर्गम तथा विकट क्षेत्रका दलित तथा जनजाती समुदायका जेहेन्दार तथा प्रतिभावान विध्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको छ ।
मुलुकमा सबैभन्दा पिछडिएका वर्गमा रहेको दलित तथा जनजातिका बालबालिकालाई शिक्षामा पहुँच होस् भन्ने उदेश्यले वि।सं।२०६१ सालमा वीरगञ्जका व्यवसायी मोहन राजपालले जनजाति कल्याण आश्रम सञ्चालनमा ल्याएका हुन् । हाल उक्त आश्रमका अध्यक्ष वीरगञ्जका व्यवसायी सुरेश रुंगटा रहेका छन् ।
अशिक्षा र सोझोपनका कारण विभिन्न प्रलोभन देखाई अधिकांश जनजाति तथा दलित समुदायका मानिसलाई धर्म परिर्वतन गराउने घटनालाई मध्यनजर गर्दै शिक्षाले नै यस्ता अंधकारलाई मेटाउने हुनाले शिक्षाको माध्यमबाटै सही र गलतको निर्णय लिन सकोस् भन्दै शिक्षामा जोड दिइएको अध्यक्ष रुंगटाले बताएका छन् ।
आमाको माया छात्रावासले बालिबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्नुका साथै गाँस र बासको समेत व्यवस्था गरेको छ । हाल देशभर ३ सय २५ जना बालबालिकाहरु छात्रावासमा आबद्ध छन् । उक्त छात्रवासबाट शिक्षा हासिल गरेकाहरु कोही नेपाल प्रहरीमा कार्यरत छन् भने केही ठूला ठूला कम्पनीमा आबद्ध छन् ।
वीरगञ्जबाट सुरुवात भएको उक्त छात्रावास हाल देशभर विभिन्न ११ जिल्लामा सञ्चालनमा छन् । यस्तै विभिन्न जिल्लाहरुमा १५ खेलकुद केन्द्र, १८ स्वयम सहायता समूह, ८५ जनजाती शिक्षा तथा संस्कार केन्द्र तथा १ सय २१ श्रद्धाजागरण केन्द्र सञ्चालन गर्दै आएको छ । आश्रमको सञ्चालन विभिन्न दाताहरुको सहयोगबाट हुने गरेको छ ।
अन्य समुदाय जस्तै पिछडिएका समुदायको समेत उत्थान तथा विकास गर्ने आश्रमको उदेश्य रहेको बताउँदै अध्यक्ष रुंगटाले सो उदेश्य केवल शिक्षाको माध्यमबाट सम्भव हुने बताए । सरकारले शिक्षा क्षेत्रमा ठूलो बजेट छुट्याएपनि दुर्गम तथा बिकट क्षेत्रका दलित तथा विपन्न वर्गका बालबालिकाहरु शिक्षाबाट अझै बञ्चित नै छन् ।
सरकारले गर्न नसकेका कामहरु आम नागरिकले गर्दा समेत सरकारको तर्फबाट कुनै सहयोगको हात अघि नबढेको जनजाति कल्याण आश्रम नेपालका अध्यक्ष रुंगटा बताउछन् । हाम्रो समाजमा पछिल्लो समय समाजसेवा, नाम तथा व्यक्तिगत स्वार्थका लागि हुने गरेको पाइन्छ ।
कोहीले भने राजनीति स्वार्थका लागि समाजसेवा गर्ने गरेका छन् । तर यस्ता समाजसेवीहरु पनि छन् जसले निस्वार्थ भावनाले केवल समाजको कल्याण गरिरहेका छन् ।