एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाए :अध्यक्ष केपी शर्मा ओली
एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाए :अध्यक्ष केपी शर्मा ओली
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको दाबी गरे ।
गठबन्धनको उद्देश्य भने विकास र समृद्धिलाई रोक्नु मात्र भएको बताए । विकास रोक्नु, सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु गठबन्धनको उद्देश्य भएको उनको भनाइ थियो । देश विकास गर्ने एमालेविरुद्ध मोर्चा बनाएर घेराबन्दी भएको बताए । उनले प्रजातन्त्र पुनर्स्थापनापछिको ३० वर्षमा कांग्रेस एक्लैले २० वर्ष र अरूसँग मिलेर गरी २० वर्ष देश चलाउँदा पनि केही विकास गर्न नसकेको दाबी गरे । उनले कांग्रेसले केही गर्न नचाहेको बताए ।
कांग्रेसलाई विरोध गर्न मात्र आउने उनको भनाइ थियो । ‘ढलेको धरहरा हामीले उठायौँ । तर, सेतो भ्युटावर भन्दा केही पनि हैन रे । उनीहरू हरेक कुरालाई नकारात्मक ढंगले हेर्छन् । धरहरा बनेकोमा पिर परेको छ,’ उनले भने, ‘रानीपोखरी बनेकोमा पिर परेको छ । पुनर्निर्माण भएकोमा पिर परेको छ । पुरातात्विक महत्त्वका सामग्री निर्माण भएको र नौ लाख भूकम्पपीडितलाई घर बनाइदिएकोमा पिर परेको छ । मदन भण्डारी राजमार्ग र हजारौँ पुल बनेकोमा पीर परेको छ ।’
हुलाकी राजमार्गअन्तर्गत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा मात्र २७ वटा पुल बनेकाले के भनेर भोट मागेर जाने भन्नेमा संकट परेको बताए ।